भ्रष्टाचारविरुद्ध खबरदारी गर्न अर्थमन्त्री शर्माको आग्रह।

काठमाडौं:= अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अनियमितताका विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी भण्डाफोर गर्न आग्रह गर्नुभएको हो।

उहाँले भन्नुभयो, ‘गलत क्रियाकलापविरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस् । सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरूको काँधमा छ ।’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले काम गरिरहेको भन्दै उहाँले उत्पादन र रोजगारी सिर्जनाको पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो । सरकारले पहिलोपटक गरिबलाई सम्झेर अति विपन्न परिवारलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक तीन हजार भत्ता दिने, दीर्घरोगीलाई मासिक पाँच हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपांगता भएकाको व्यवस्थापन, दलित आवासलगायतका लोकहितकारी निर्णय गरेको उहाँको जिकिर छ । मन्त्री शर्माले पत्रकारको क्षमता अभिवृृद्धि गर्न तालिम सञ्चालन आवश्यक परे सरकारले सहयोग गर्ने आश्वासनसमेत दिनुभएको छ ।

‘पोखरा-काठमाडौंको सडक यात्रा छोट्याउने’  

अर्थमन्त्री जनार्दन शर्माले पोखरा-काठमाडौंं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना रहेको बताउनुभएको छ । उहाँले उक्त योजनाका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको पनि जानकारी गराउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘पोखरा काठमाडौंलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ ।

सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ ।’ पोखरा-काठमाडौं सडक मार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना रहेको उहाँले बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको  अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले कोभिड-१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्ने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको व्याजदर घटाउनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्नेलगायतका मागहरू राखेका थिए ।

अर्थमन्त्री शर्माले अन्तर्राष्ट्रियस्तरका सडक बनाउन नक्सांकन गर्ने योजना बनाइएको बताउनुभयो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले बनाउनुपर्ने सडकको नक्सांकन गर्न लागिएको उहाँको भनाइ छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने गरी काम अघि बढाउने र  सार्वजनिक खरिद ऐन संशोधनको पनि तयारी भइरहेको उहाँले बताउनुभयो ।

पोखराको भौतिक पूर्वाधारको विकासको आवश्यकता, चक्रपथ निर्माणलगायत विषयमा संघीय सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो । नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य सुनाउँदै उहाँले देशलाई हित हुने कुरा गर्दा कतिपयलाई चित्त नबुझेको आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यतिबेला दुई हजार मेगावाटमात्र विद्युत् हुँदा पनि पाँच सय मेगावाट खेर जाने चिन्ता छ,  जबकि १० हजार मेगावाट विद्युत् नेपालमै खर्च गर्ने योजना चाहिन्छ । मैले प्रतिस्थापन विधेयकमार्फत् स्वदेशमै विद्युत् खपत गर्ने उद्योग स्थापना गर्ने गरी नीति ल्याएको छु । नेपालमा फलाम उद्योगहरू १५ देखि १८ वटा चल्न सक्ने अवस्था छ । धौवाडीलगायतका फलाम खानी सञ्चालनमा ल्याउनु छ । निर्माण क्षेत्रमा हामी केही समयमै आत्मनिर्भर हुन सकिने अवस्था छ ।’