खुकुरी रम आकर्षक प्याकमा।

काठमाडौं:= नेपालको स्थापित र अग्रणी ब्रान्ड खुकुरी रमले नयाँ प्याक सार्वजनिक गरेको छ । कम्पनीले २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याकमा ल्याएको हो।

खुकुरी रम उत्पादन गर्ने द नेपाल डिस्टिलरिज सन् १९५९ मा स्थापना भएको हो । कम्पनी स्थापनाको ६२औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्रीरूपमा बजारमा ल्याइएको जनाएको छ।

खुकुरी रमले प्याक परिवर्तनअघि देशविदेशका ग्राहकमाझ रिसर्चसमेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकको प्रतिक्रिया लिएको थियो । प्याक परिवर्तनअघि र पछिका ग्राहकबाट आएका प्रतिक्रियासमेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्परा झल्किने गरी विशेषताहरू समावेश गरिएको कम्पनीले जनाएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ।

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार खुकुरी रम नेपाली गौरवको प्रतिनिधित्व गर्दै नेपालबाट देशविदेशमा गिफ्टका रूपमा सबैभन्दा धेरै लगिने वस्तु पनि हो।