काठमाडौं := नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीनिकटका पत्रकारहरूलाई जाँड–रक्सी नखान चेतावनी दिनुभएको छ । समाजवादी प्रेस संगठनको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नेपालले यस्तो चेतावनी दिनुभएको हो । जाँड–रक्सी नखान चेतावनी दिनुहुँदै उहाँले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनुभयो । जाड–रक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जाड–रक्सी खायो भने प्रतिष्ठा बढ्ला भन्ने नठान्नुहोला । बिहान उठनेबित्तिकै एक प्याक ल्याऊ भन्नेहरू हुन्छन् । त्यो हो भने ठिक हुँदैन । खाँदै नखानुस् पहिलो कुरा । नखाए तपाईंको वेट घट्दैन । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस् । तगडा हुनुस् । दिमाग तीखो बनाउनु र राम्रो काम गर्नुस् ।’
अध्यक्ष नेपालले साँझ पाँचतारे होटल नधाईकन पनि निद्रा लाग्ने भएकाले त्यस्तो नगर्न निर्देशन दिनुभयो । उहाँले पाँचतारे होटलमा साँझ गएमा वा जाँड–रक्सी खाएमा राम्रो नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरूमा पनि साँझ पर्नेबित्तिकै पाँचतारे होटल धाइधाईकन नखाईकन निद्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिनँ । तपाईंको स्वास्थ्यलाई पनि काम गर्छ । म सुझाव दिन चाहन्छु-रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । आयु घटाउँछ, रोग निम्त्याउँछ । रोगी बन्नुहुन्छ तपाईं । तपाईंको पैसाको दुरुपयोग हुन्छ । तेस्रो घर कलह सुरु हुन्छ । त्यसपछि तपाईंको खराव बानीव्यहोरा छोराछोरीमा जाने डर हुन्छ ।’
उहाँले आफ्नो प्रतिष्ठा र इज्जतका लागि भए पनि यस्तो नगर्न आग्रह गर्नुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘त्यसले समाजमा ठूलो विकृति बढ्दछ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढ्दैन । सम्मान बढदैन ।’
अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृत्तिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टीनिकट पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गर्नुभयो । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाइँ लडिरहनुपरेको अध्यक्ष नेपालको भनाइ थियो ।




















