कम्युनिष्ट नामधारीलेनै कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाए: नेपाल।

काठमाडौं:= नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरंकुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई शनिबार सम्बोधन गर्दै उहाँले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले अहिले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरू सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिनुभयो ।

पत्रकारले समाजमा भएका राम्रो कामको उत्खनन गर्ने र गलत कामको भण्डाफोर गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रिय एकताको पक्षमा कलम चलाउँदै अनुचित काम गर्नेलाई पनि नछाड्न उल्लेख गर्नुभयो । ‘समाजवादी आदर्शबाट अगाडि बढ्नुस्, गलत कामलाई गलत भन्नुस्, पत्रकारिताको राम्रो आचरण विकास गर्नुहोस्’, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसंगति मौलाइरहेको उल्लेख गर्दै पत्रकारले पनि त्यसखालका विकृति विसंगतिविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरूको लहर चलिरहेको आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको पनि उहाँले बताउनुभयो ।

पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पु¥याउन संगठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

गठबन्धन टुट्ने हो कि भन्ने आशंका नपालौँ

नेपालले सत्तारूढ गठबन्धन टुट्ने हो कि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारूढ दलबीच सहमति भएको हो।

त्यसले गठबन्धनलाई टुटाउने खोज्नेहरूको सपनालाई चकनाचुर पारेको दाबीसमेत गर्नुभयो । उहाँले सत्तारूढ गठबन्धनको आयु लामो छैन भन्नेहरूलाई जवाफ दिनेगरी आफूहरूले राष्ट्रियसभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमति गरिसकेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले दुईवटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्कसमेत गर्नुभयो । कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारूढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो। बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री एवं पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र प्रदेश १ का मुख्यमन्त्री एवं पार्टीका सचिव राजेन्द्र राईले आ–आफ्नो प्रदेश सरकारको योजनाबारे बिफ्रिङ गर्नुभएको थियो ।