हिन्दु संगठनको र्‍याली रोक्न खोज्दा प्रहरीसँग झडप, जनकपुरमा निषेधाज्ञा।

जनकपुरधाम:= धनुषाको जनकपुरधाममा दुई समूहबीच झडप भएपछि आइतबार रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ । छठको अघ्र्य दिनको लागि देवपुराको तेलिया पोखरीमा ठाउँ बनाउने क्रममा बिहीबार हिन्दु र मुस्लिम समुदायबिच विवाद भएको थियो । त्यसै विषयमा शनिबार फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा जलाध नदीको कर्ली बाँध, पश्चिममा जनकपुरको जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जानेबाटोसम्म आइतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबारको झडपमा दुवै समूहका र प्रहरी गरी केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाइ फायर पनि गरेको थियो ।

जनकपुरमा बर्षौदेखि हुँदै आएको हिन्दु र मुस्लिम समुदायबिचको विवाद के हो ? 

तेलिया साहू पोखरीमा छठ घाट बनाउने क्रममा मंगलबार बिहान स्थानीय हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरू भएको थियो। वडाध्यक्ष भोगी झाका अनुसार ४५ वर्षदेखि पोखरी प्रयोगलाई लिएर विवाद हुँदै आएको छ। हिन्दु धर्मावलम्बीहरूले दसैं र विश्वकर्मा पूजामा मूर्ति सेलाउने क्रममा होस् वा इस्लाम धर्मावलम्बीहरूले ताजिया खेल्ने क्रममा प्रत्येक वर्ष विवाद हुने गरेको उनले बताए।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार मूर्ति सेलाउने क्रममा पोहोर विवाद हुँदा जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सर्वपक्षीय बैठकबाट पोखरीको आधा–आधा भाग दुवै समुदायले आ–आफ्नो पर्वमा प्रयोग गर्ने सहमति भएको थियो।

पोखरीको दक्षिणपट्टी हिन्दुले र उत्तरतर्फको भाग मुस्लिमले प्रयोग गर्ने सहमति भएको थियो। पोखरीको बीचमा मुस्लिमले झण्डा गाडेका थिए। छठ घाट सजाउने बेला अस्ति झन्डा उखेलिएपछि विवाद सुरू भएको थियो,’ उनले भने। वडाध्यक्ष झा भने पोखरी आधा-आधा प्रयोग गर्ने सहमति भएकोबारे आफूहरूलाई थाहा नभएको बताउँछन्।

उनका अनुसार इस्लामिक झन्डा पोखरीबाट हटाइएपछि उत्पन्न विवादमा चार जना घाइते भएका थिए। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएकाले उग्र रूप लिन पाएन। विवाद समाधानका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षलाई बोलाएर छलफलसमेत भएको थियो। ‘विवाद समाधान नहुन्जेल झगडा तथा नारा जुलुस नगर्ने सहमति भएको थियो,’ डिएसपी बस्नेतले भने।

उनका अनुसार शनिबार दिउँसो अचानक बजरंग दल लगायत हिन्दुवादी संगठनले जानकी मन्दिरदेखि विवादित ठाउँसम्म मोटरसाइकल र्‍याली निकाल्ने सूचना आयो। ‘उनीहरूलाई सम्झाई बुझाई नगर परिक्रमा गरेर फर्किन भन्यौं। तर उनीहरूले मानेनन्। रुपैठातिर जानबाट रोक्ने प्रयास गर्‍यौं तर कुन-कुन बाटो भएर उनीहरू घटनास्थलसम्म पुगिहाले,’ डिएसपी बस्नेतले भने, ‘रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि लाठी, भाटा, बियरका बोतल, ढुंगामुढा प्रहार गर्न थाले।’

बजरंग दल लगायतका हिन्दुवादी संगठनका बताउने ती व्यक्तिहरू र प्रहरीबीच केही बेरसम्म दोहोरो झडप चलेको उनको भनाइ छ। स्थिति तनावपूर्ण बनेपछि नेपाल प्रहरीले २७ राउन्ड र सशस्त्र प्रहरीले ५ राउन्ड अश्रु ग्यास प्रहार गरी भिड तितरबितर पारेको डिएसपी बस्नेतले बताए।उनका अनुसार झडप क्रममा नेपाल प्रहरीका एक, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारीतर्फबाट एक जना घाइते भएका छन्। उनीहरूको अवस्था समान्य छ।

झडपलगत्तै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर–२० देवपुरा रुपैठाको चार किल्ला पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लागू गरेको छ। शनिबार दिउँसोदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।