प्रभुको बैंकको सेयर कारोबार फुकुवा।

काठमाडौं:= नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले  प्रभुको बैंकको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले बैंकको सेयर कारोबार बिहीबार रोक्का गरेको थियो । नेप्सेले किन कारोबार समयमा लाभांश घोषणा गरेको भन्ने प्रश्नमा बैंकले आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांशसम्बन्धी निर्णय नगरिने प्रतिबद्धता व्यक्त गरेकाले कारोबार फुकुवा गरिएको जनाएको छ ।

त्यस्तै नेप्सेले आगामी दिनमा उल्लेखित विषयप्रति धितोपत्र सूचीकरण विनियमावली २०७५ मा तोकिएबमोजिम गर्न निर्देशन दिँदै बन्द सेयर कारोबार फुकुवा गरिएको जनाएको छ । बैंकको कात्तिक २५ गते सञ्चालक समितिको बैठक बसी चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यसैबीच प्रभु बैंक र अस्ट्रेलियाको फोरेक्स स्पोर्टबीच सम्झौता गरेको छ । अस्ट्रेलियामा रहेका नेपालीले अब फोरेक्स स्पोर्टमार्फत् नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् । प्रभु बैंकका दुई सय १४ शाखा तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दा बढी एजेन्टबाट सहजै भुक्तानी पाउन सकिने बैंकले जनाएको छ । उक्त सेवा प्रभु बैंकको खातामा मात्रै सीमित नभई देशका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने बताइएको छ ।