काठमाडौं := नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको दाबी गर्नुभएको छ । पार्टीको स्थायी कमिटी बैठकमा बोल्नुहुँदै उहाँले एमाले छाडेर आफ्नो पार्टीमा आउनेहरूको सिलसिला उत्साहबर्धक रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले डडेल्धुरामा एमालेको सिंगो जिल्ला कमिटी नै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रियासमेत दिनुभयो । उहाँले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताउनुभयो । अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसविरुद्ध चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गर्ने सिलसिला चलेको छ । उत्साहबर्धक पनि छ । उदाहरणको निम्ति डडेल्लधुरा जिल्ला, त्यहाँ झण्डैझण्डै सबै जिल्ला कमिटी नै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ । बेग्लै किसिमको उत्साह पैदा गरेको छ । तरंग पैदा गरेको छ । तर, यति हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागिपरेको छ । र, उसले अनावश्यक आरोप लगाइरहेको छ । झुटा प्रचार गरिरहेको छ । यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनुपर्नेछ ।’
गठबन्धन निर्वाचनसम्म
अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन चुनावसम्मै जाने बताउनुभएको छ । राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारूढ दलहरूले मिलेर उम्मेद्वारी दिने सहमति भएको उल्लेख गर्नुहुँदै चुनावमा पनि गठबन्धन रहने बताउनुभयो । सत्तारूढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरूले सत्तारूढ दलबीच समन्वय समिति बनाउनुपरेको पनि उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो हाम्रो गठबन्धन चुनावसम्म जानेछ । अहिलेको सन्दर्भमा हामी राष्ट्रियसभाको निर्वाचनमा मिलेर उम्मेदवार खडा गर्छौैैं । दोस्रो कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको स्थानमा हुने उपनिर्वाचनमा पनि हामी मिलेर जानेछौँ । यस काममा हाम्रो पार्टीले सम्पूर्ण तयारी गर्नुपर्दछ । कसैकसैले प्रचार गरेजस्तो सरकारको मामिलामा सत्तारूढ गठबन्धन दलले बनाएको समन्वय समितिले हस्तक्षेप गर्दैन ।’
अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले तीनवटै तहको निर्वाचनमा एकैपटक गर्ने आफूहरूले सोच बनाए पनि त्यसरी गर्न कानुन, नियमले मिल्ने–नमिल्ने छलफल गरेर अघि बढ्ने बताउनुभयो ।




















