गैँडाले पार्टीको झण्डा बोकेको एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक।

काठमाडौं:= नेकपा एमालेले केपी शर्मा ओलीलाई १०औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाउने तयारी थालेको छ । माधवकुमार नेपाललगायत नेताहरूले एमाले विभाजन गरी नयाँ दल दर्ता गरेपछि ओलीलाई एमालेको सर्वसम्मत अध्यक्ष बनाउन नेताहरूले प्रयास जारी राखेका हुन् ।

नेपालको साथ छाडेर एमालेमै रहनुभका भीम रावललगायत केही नेताहरूले १० बुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहनुभएको छ । रावलले आफू ओलीविरुद्ध अध्यक्षमा उठ्ने बताउँदै आउनुभएको छ । यद्यपि, ओलीनिकट नेताहरू नेतृत्व सर्वसम्मतिमै चयन हुने बताउँदै आएका छन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेतृत्व सहमतिमा नै चयन हुने बताउनुभयो ।

महाधिवेशन आयोजक मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीका सबै नेताहरूको मानसिकता सहमितबाट नेतृत्व चयन गर्नुपर्ने रहेको बताउनुभयो। उहाँले केपी ओलीले नेतृत्व गरिरहेको राजनीतिक ध्रुवलाई सहयोग पुग्ने गरी पार्टीले नेतृत्व सहमतिमै चयन गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामी बिल्कुल सहमतिका साथ चयन गर्ने कुरामा हाम्रो देशभरिकै पार्टीका साथीहरूले यही मानसिकता छ । हामी सहमतिका साथ अगाडि बढछौं । र, मैले भनँे, ‘नेशनल पोलिटिक्सको जुन पोललाई एमालेले लिड गरिराखेको छ, त्यो पोललाई प्रभावकारी ढंगले अघि बढाउनका लागि पनि हामीहरू त्यसरी अघि बढछौं ।’

यस्तै, एमालेले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो लोगो सार्वजनिक गर्नुभएको हो ।

लोगोमा पार्टीको चुनाव चिन्ह सूर्य र गैँडाले पार्टीको झण्डा बोकेको राखिएको छ । चितवन गैँडाका लागि प्रख्यात भएकाले लोगोमा गैँडा पनि समावेश गरिएको महाधिवेशन प्रचार समितिका संयोजक योगेश भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी, पत्रकार सम्मेलनमा पार्टीको मूलनारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ ।

जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ उल्लेख गरिएको जिंगल पनि सार्वजनिक गरिएको छ । पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशनमा पार्टीका सदस्यहरूले सहयोगस्वरूप उपलब्ध गराउने कम्तीमा एकसय सहयोग उपलब्ध गराउनका लागि क्युआर कोड सार्वजनिक गर्नुभयो ।

‘महाधिवेशनमा भित्ते लेखन र कागजको पोष्टर प्रयोग नहुने’

यसैबीच नेकपा एमालेले महाधिवेशनमा पहिलोपटक भित्ते लेखन र कागजको पोष्टर प्रयोग नगर्ने भएको छ । महाधिवेशन प्रचार कमिटीका संयोजक योगेश भट्टराईले महाधिवेशनमा भित्ते लेखन र कागजको पोष्टर प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिनुभएको हो । त्यसैगरी, एमालेले सबै स्थानीय तहमा सम्बन्धित वडा कमिटीको आयोजनामा पार्टी महाधिवेशनको प्रचारका लागि सभा, गोष्ठीलगायत कार्यक्रमहरू आयोजना गर्नेछ ।

त्यसैगरी, मंसिर ७ गते जिल्ला, प्रदेश र देशका मुख्यमुख्य सहरहरूमा मोटरसाइकल ¥याली आयोजना गरिनेछ । राष्ट्रिय युवा संघ, नेपाल, अनेरास्ववियू र खेलकुद महासंघको आयोजनामा महाधिवेशनको प्रचारका लागि सो मोटरसाइकल ¥याली आयोजना हुने पनि संयोजक भट्टराईले बताउनुभयो । एमालेले महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओली र सञ्चारकर्मीहरूबीच पनि अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । पार्टीको बुद्धिजीवी परिषद्ले प्रदेशस्तरीय गोष्ठीलगायतका कार्यक्रमहरू पनि आयोजना गर्ने एमालेले जनाएको छ ।

एमालेले महाधिवेशनमा सञ्चार संकलनका लागि पुगेका सञ्चारकर्मीहरूका लागि छुट्टै मिडिया डेस्कको समेत व्यवस्था गर्ने जनाएको छ । आसन्न मंसिर १०-१२ मा चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशनमा दुई हजार बढी प्रतिनिधिहरू सहभागी हुनेछन् । महासचिव पोखरेलले महाधिवेशनमा करिब आठ लाख पार्टी सदस्यहरू सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो ।