माओवादी घटकसँग पार्टी एकताको छलफल चलिरहेको छ: अध्यक्ष प्रचण्ड।

काठमाडौं := नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट टुक्रिएर गएका नेताहरूसँग वार्ता भइरहेको बताउनुभएको छ । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताहरूसँग वार्ता भइरहेको बताउनुभएको हो ।

उहाँले विप्लव समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमानदार हुने कम्युनिष्टहरू ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताउनुभयो ।

‘ढिलोछिटो, विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु । अलग बसेर होइन, हामी सबै एकठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ । कुनै रोमान्स जस्तो गरीकन लैजान सकिँदैन’

उहाँले भन्नुभयो, ‘अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरू, बाबुरामजीहरू, विप्लवजीहरू र अरू समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमानदार हुने सबै कम्युनिष्टहरू फेरि एकपटक एकताबद्ध हुनैपर्छ, मलाई विश्वास छ ।

हामीले धेरै ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएका छौँ, हामी जानु अझ धेरै टाढासम्म छ, त्यो यात्रा हामी सबैले आपसमा हातेमालो गेरर मात्रै पार गर्न सकिन्छ । एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जेसुकै भए पनि नियति क्षतविक्षत हुनुबाहेक अर्को हुँदैन।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताउनुभयो । उहाँले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताउनुभयो ।

कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताउनुभयो । उहाँले प्रचण्ड व्यक्ति नभई सही विचार, बलिदान, संघर्षको प्रतीक भएको पनि बताउनुभयो । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरू माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताउनुभयो ।