काठमाडौं := नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू नै सभापतिको उम्मेदवार हुनुपर्ने दाबी नगरेको बताउनुभएको छ । शुक्रबार बत्तीसपुतलीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सबैलाई मिलाउने पक्षमा आफू रहेको बताउनुभयो ।
‘रामचन्द्र पौडेलले म नै हुनुपर्छ भन्नुभएको छैन । म पनि मिलाउने पक्षमा नै छु,’ उहाँले भन्न्ुभयो, ‘हाम्रो पक्षका चारजना मिलाउने जिम्मा रामचन्द्र पौडेललाई दिऔँ । केन्द्रीय समिति बैठकलगत्तै चारजनाको बैठक बोलाउनुस् भन्यौँ । हामी चारमध्ये एक मात्रै सभापतिको उम्मेदवार बन्न नसके शेरबहादुरजीलाई बुझाइदिए हुन्छ ।’
कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतद्वारा पदबाट राजीनामा
सर्लाहीमा अधिवेशन गराउनका लागि कांग्रेसले खटाएका निर्वाचन अधिकृतले राजीनामा दिनुभएको छ । वडा अधिवेशन सुरु हुने अघिल्लो दिन निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिनुभएको हो । निर्वाचन समितिका केन्द्रीय संयोजकलाई पत्र लेख्दै जिल्लामा अधिवेशन गराउन सक्ने अवस्था नरहेको उल्लेख गर्नुभएको छ ।
पार्टीभित्रका समूहबीच छलफल गराउँदा सहमति बन्न नसकेकाले अधिवेशन गराउने वातावरण नभएको उहाँले राजीनामापत्रमा उल्लेख गर्नुभएको छ । प्रदेश २ का आठ जिल्लासहित १३ जिल्लामा शनिबार वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृतले राजीनामा दिएपछि कांग्रेस सर्लाहीको अधिवेशनमा अन्योल थपिएको छ ।
कांग्रेस पदाधिकारी बैठक शनिबार बिहान बस्ने
नेपाली कांग्रेसले शनिबारका लागि पदाधिकारीको बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ । आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरिने विषय र एजेण्डा निर्धारण गर्न पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा १४औं महाधिवेशनका विषयमा पनि छलफल हुने जनाइएको छ ।




















