नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा खटपट, साझा उम्मेदवार छान्नुपर्नेमा जोड।

काठमाडौं := महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा खटपट देखिएको छ । शुक्रबार पौडेल समूहले बोलाएको बैठकमा नेता प्रकाशमान सिंह अनुपस्थित हुनुभएको हो । महाधिवेशनको मुखमा समूहले डाकेको बैठकमा नेता सिंहको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उहाँ समूहबाट बाहिरिएको हुन सक्नेसमेत आँकलन छ ।

त्यसो त कांग्रेसनिकट स्रोतका अनुसार नेता सिंह बर्दियामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर नेपालगञ्जबाट रुपैडिया नाका हुँदै लखनउबाट दिल्लीतर्फ लाग्नुभएको छ । सिंहको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणका दौरान सिंहले केही भारतीय नेताहरूसँग भेटघाट गर्ने जनाइएको छ ।

स्रोतका अनुसार नेता सिंह पछिल्लो समय पौडेलसँग रुष्ट हुनुहुन्छ । काठमाडौंको वडा र पालिका अधिवेशनदेखि सुरु भएको नेताद्वयबीचको तीक्तता मन्त्रिपरिषद् विस्तारसम्म थप बढेको थियो । त्यसपछि सरकारलाई सहयोग गर्न भन्दै बनाइएको समन्वय समितिको संयोजकमा पौडेल चयन भएपछि तीक्तता थप बढेको हो । चाक्सीबारी स्रोतका अनुसार नेता पौडेल र सिंहबीच लामो समयदेखि बोलचाल नै बन्द भएको छ । नेताद्वयबीच टेलिफोन संवादसमेत नभएको एक महिना बढी भएको नेता सिंहनिकट एक नेताले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार सरकार विस्तार गर्दा सिंहनिकटका एकजना पनि समावेश नभएपछि विवाद बढेको थियो । काठमाडौंको स्थानीय तहमा भएका अधिवेशनमा नेता भीमसेनदास प्रधानसँग मिलेर पौडेल र कोइरालाले सिंह प्यानलका उम्मेदवारलाई हराउन भूमिका खेलेको सिंहको आरोप छ । पूर्व-महामन्त्री सिंह आगामी महाधिवेशनमा सभापति उठ्ने गरी एक्लै अघि बढ्नुभएको छ ।

पौडेल समूहको बैठकमा नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताहरू डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापा, चन्द्र भण्डारी, कमला पन्त, कानुनमन्त्री दिलेन्द्र बडूलगायत नेताहरू सहभागी हुनुभयो । बैठकमा आगामी केन्द्रीय कार्यसमित बैठक र आगामी महाधिवेशनबारे छलफल भएको नेता शशांक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार समूहको पुनः बैठक बसेर साझा उम्मेदवार चयनबारे छलफल गर्न नेताहरूले सुझाव दिएका छन् । बैठकमा सभापतिमा साझा उम्मेदवार चयन गर्नुपर्नेमा नेता पौडेलले पनि जोड दिनुभएको थियो ।

बैठकमा विभिन्न जिल्लामा अझै क्रियाशील विवाद देखिएको, महाधिवेशन नगरेका भ्रातृ संस्थाहरूलाई महाधिवशनमा सहभागी नगराउने, अष्ट्रेलिया बेलायत साइप्रसलगायत देशहरूमा जनसम्पर्क समितिमा देखिएको विवादलगायत विषय कात्तिक २८ गते बस्ने केन्द्रीय समिति बैठकमा उठान गर्ने विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्च अदालतमा देखिएको विवाद निराकरण गर्न गठबन्धनका दलहरूले पहल लिनुपर्ने आवाजसमेत समूहको बैठकमा उठेको छ ।