काठमाडौं:= नेपाली कांग्रेसले बाँकी रहेका जिल्लामा आज (शनिबार)देखि वडा अधिवेशन गर्ने भएको छ । पछिल्लो कार्यतालिकाअनुसार शनिबारदेखि यसअघि वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा अधिवेशन गर्ने कांग्रेसको तयारी छ । निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी बाँके, कैलाली, सप्तरी, सिराहा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सुर्खेत, डोल्पा, रसुवा र पर्सामा वडा अधिवेशन हुन लागेको हो ।
वडा अधिवेशन सकिएपछि ती जिल्लामा कात्तिक ३० गते पालिका अधिवेशन हुने निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले हिमालय टाइम्सलाई जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार केही ठाउँमा सुरु हुन नसके आइतबार वा सोमबार पनि वडा अधिवेशन हुनेछ । ‘शनिबारबाट १३ जिल्लामा वडा अधिवेशन हुँदैछ,’ उहाँले भन्नुभयो, ‘केही जिल्लामा शनिबार सुरु हुन नसके आइतबार र सोमबार पनि हुन्छ ।’
६४ जिल्लाको वडा र पालिका अधिवेशन तिहारअघि नै सकिएको थियो । साथै, १३ जिल्लाबाट महाधिवेशन प्रतिनिधिसमेत चयन भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा हुने गरी कार्यतालिका तय गरिएको छ ।




















