तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट निर्णायक।

काठमाडौं:= तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ ।नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० जना निर्णायकको सहभागिता रहेको बताइएको छ । चारवटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाउनुभएको छ ।

नेपालबाट प्रतियोगितामा श्रेष्ठसहित अशोक खड्का, मिन न्यौपाने, रविन्द्र मल्ल, जितसिंह लामा र दीपेन्द्र ढकालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । श्रेष्ठ यसअघि २०१९ को जुलाईमा जोर्डनमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक चुनिनुभएको थियो ।

श्रेष्ठ १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक पनि हुनुहुन्छ । उक्त सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्यपदक जितेको थियो । २७ खेल समावेश सागमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो । पाकिस्तानको प्रतियोगितामा ६ खेलाडी तथा समान १-१ प्रशिक्षक र अफिसियल पनि नेपालबाट सहभागी भएका थिए । सबै खेलाडी पदकविहीन रहे ।