काठमाडौं:= पछिल्लो समयको विश्वव्यापी लोकप्रिय भिडियो एप टिकटकमा भिडियो बनाउनेहरूको भिडबाट उत्कृष्ट टिकटक स्टार खोजिने भएको छ । आयोजक शिखर नेपाल प्रालिले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ आयोजना गर्ने बताएको हो ।
अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने बताइएको छ । प्रथम हुनेलाई ३५ लाख बराबरको कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर उपहारसंगै टप १० भित्र पर्ने प्रतिस्पर्धीलाई समेत कम्प्युटर, क्यामेरा, टिभी, फ्रिज, मोबाइल, घडीलगायत उपहार दिने शोका निर्देशक हरि शर्माले बताउनुभयो । शोको निर्णयकमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरू गौरी मल्ल, रमेश उप्रेती र वर्षा सिवाकोटी रहनुहुनेछ ।
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारलाई समेत शिखर सम्मान प्रदान गरिएको छ । सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दीप अर्याल, साहित्यकार भीष्मराज फुलारा तथा सञ्चारकर्मी सुदर्शनप्रसाद आचार्य ‘शिखर सम्मान २०७८’ द्वारा सम्मानित हुनुभएको छ ।
नाइस टेलिभिजन एचडीबाट प्रशारणमा आउने शोमा टेकप्रसाद बास्तोला निर्माताका रूपमा रहनुभएको छ । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्डदेखि ३ मिनेटसम्मको हुनुपर्नेछ भने अनलाइन अडिसनको समय मंसिर मसान्तसम्म आहृवान गरिएको छ ।




















