एजेन्सी बेजिंग:= न्युजिल्याण्डमा जारी एसिया-प्रशान्त इकोनोमिक कोअपरेशन एपेकको सम्मेलनमा एक भिडियो सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले भू–राजनीतिक स्तरमा यो क्षेत्रलाई स-साना गुटमा बाँड्ने प्रयास असफल हुने बताउनुभएको छ । उहाँले एसिया-प्रशान्त क्षेत्रमा संघर्षको अवस्था वा शीतयुद्धको जस्तो मतभेदको अवस्था बन्न नहुने बताउनुभएको हो।
‘विचारधारात्मक रेखा कोर्ने वा भूराजनीतिक आधारमा साना वृत्तहरू बनाउने प्रयास अवश्य विफल हुन्छन्,’ सीले एसिया प्रशान्त आर्थिक सहकार्य शिखर सम्मेलनको भर्चुअल बिजनेस कन्फरेन्सको साइडलाइनमा बताउनुभयो । उक्त सम्मेलन न्युजिल्याण्डले आयोजना गरेको हो । ‘एसिया प्रशान्त क्षेत्र शीतयुद्ध कालको जस्तो भिडन्त र विभाजनमा फर्किनु हुँदैन,’ उहाँले बताउनुभयो।
राष्ट्रपति सीले चीनले एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध रहेको र सबै मुलुकलाई फाइदा हुने अवस्था सिर्जना होस् भन्ने चाहेको उल्लेख गर्नुभयो । उहाँले कोरोना महामारीबाट बाहिर निस्कन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै देश मिलेर काम गर्न अपिल गर्नुभयो । सीले विकासोन्मुख देशहरूलाई कोरोनाको खोपको पहुँचमा पु¥याउन र खोपको खाडल छिटोभन्दा छिटो भर्ने कुरामा चीन गम्भीर रहेको समेत बताउनुभयो।
यता अमेरिका र चीनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणसहितका प्रयासमा आउँदो दशकमा सहकार्य थप विस्तार गर्ने सहमति गरेका छन् । स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२६ को क्रममा अमेरिका र चीनले सहकार्यसम्बन्धी घोषणा गरेका हुन्।
दुई देशले जलवायु परिवर्तनका सम्बन्धमा सहकार्य बढाउने र आवश्यक काम गर्ने वाचासहित संयुक्त वक्तव्य जारी गरिएको हो । वक्तव्यमा दुवै देश मिलेर काम गर्न प्रतिबद्ध रहेको दोहोर्याइएको छ । पेरिस जलवायु सम्झौताले तय गरेको तापमान वृद्धि औद्योगिक क्रान्तिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित गर्न काम गर्ने अमेरिका र चीनको भनाइ छ।
वैज्ञानिकहरूले जलवायुजन्य गम्भीर विपद् टार्न तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्ने बताउँदै आएका छन् । सन् २०१५ मा भएको पेरिस सम्झौतामा विश्वका नेताहरूले तापक्रम वृद्धि १.५ देखि २ डिग्री सेल्सियसमा सीमित गर्न हरितगृह ग्यासको उत्सर्जन ठूलो मात्रामा कटौती गर्ने वाचा गरेका थिए।




















