बागलुङ:= पश्चिम बागलुङका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले बुर्तिबाङमा स्थापना भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङमा सुविधाभन्दा बढी सास्ती खेप्नुपरेको छ । प्रशासनमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा नागरिकलाई सास्ती भइरहेको छ । अहिले मतदाता नामावली दर्ता गराउनेको भिड निकै बढिरहेको छ भने नागरिकता, राहदानीलगायतका कामका लागि अहिले सेवाग्राही पनि उत्तिकै आउने गरेका छन् ।
गत भदौ ११ गतेदेखि सुरु भएको मतदाता नामावलीमा नाम छुटेका र उमेर पुगेका नागरिकको नामावली दर्ता गर्ने कार्यक्रम जारी छ तर यो काम एकजना कर्मचारीको भरमा मात्रै छ । दैनिक सयौँ सेवाग्राही नामावली दर्ता गराउनका लागि आउँछन् । एकजना कर्मचारीको भरमा नामावली दर्ता गराउने काम हुने भएका कारण नागरिकले सास्ती खेप्दै आइरहेका छन् ।
प्रशासनमा दैनिक भिड हुने हुँदा एउटै कामका लागि पटक–पटक आउनु परेको नागरिकको गुनासो छ । ढोरपाटन नगरपालिका–९ की धनमाया पुन दुई पटकसम्म मतदाता नामावली दर्ता गराउन प्रशासनमा आउनुभयो तर पनि उहाँको काम भएन । टाढाको दूरीबाट प्रशासनिक कामका लागि बुर्तिबाङ झरेको भन्दै दुई/दुई पटकसम्म एउटै कामका लागि प्रशासनमा आए पनि काम नभएको उहाँको गुनासो छ ।
‘नामावली दर्ताकै लागि दुईपटकसम्म यहाँ आएँ, अहिले पनि काम भएन, बुढाबुढी नै आएका छौँ, घरमा स-साना केटाकेटीमात्रै छन्, आज पनि काम भएन, पालै पाइएन, अफिसमा एकजनामात्र काम गर्ने मान्छे रैछन्,’ उहाँले भन्नुभयो, ‘घरको काम सबै छोडेर आइयो, काम भएन, अब भोलि बोलाउनुभएको छ, भोलि आए त तीनपटक हुन्छ, भोलि पनि भएन भने त अब नआउने ।’
पुन गाउँबाट आउँदाजाँदा गाडी भाडा र खाजामा पाँच हजार खर्च भइसकेको भन्दै त्यो पनि ऋण खोजेर आएको बताउनुहुन्छ । कर्मचारी अभाव र स्थानीय सरकारले समेत समन्वय नगरेका कारण आफूहरूलाई सास्ती भएको उहाँको गुनासो छ । सरकारले वडा–वडामा नामावली संकलन गर्ने व्यवस्था गरिदिएको भए सर्वसाधारणलाई सास्ती नहुने उहाँ बताउनुहुन्छ ।
एकै दिन ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ बाट करिब डेढ सयजना नागरिक बुर्तिबाङमा दुईपटक आइसकेका छन् तर उनीहरूको काम समयमा नभएका कारण हैरानी खेपिरहेका छन् । वडा नम्बर ९ बाट मात्रै एक सयजना नागरिक मतदाता नामावली दर्ताका लागि इलाका प्रशासनमा आए । उनीहरूमध्ये जम्मा २० जनाको मात्रै काम भयो अन्यको भने भएन ।
ढोरपाटन–९ का भक्तबहादुर घर्ती पनि दुईपटकसम्म नामावली दर्ता गराउनका लागि इलाका प्रशासन आउनुभयो तर काम नभएपछि तेस्रोपटक आउनुपरेको बताउनुहुन्छ । दैनिकरूपमा ५०/६० जनाको नामावली दर्ता गराउँदासमेत नागरिकलाई सहज सेवा दिन नसकिएको दर्ता फाँटमा कार्यरत कर्मचारी शर्मिला पुनले बताउनुभयो ।
भदौ ११ देखि हालसम्म १९ सय बढी नागरिकले नामावली दर्ता गराएका छन् । अहिले पनि दैनिकरूपमा दुई सय बढी नागरिक नामावली दर्ताका लागि आउने गरेका छन् । कात्तिक मसान्तसम्म नामावली दर्ता कार्यक्रम रहेका कारण पछिल्लो समय चाप बढिरहेको प्रशासनले जनाएको छ । यस कार्यालयमा अहिले आठजना स्थायी कर्मचारीको दरबन्दी रहे पनि हाल दुई स्थायी र दुई करारका कर्मचारीले काम गर्दै आएका छन् ।
२०५४ सालदेखि इलाका प्रशासन कार्यालय रहेको उक्त कार्यालय २०६९ सालमा एकीकृत सेवा केन्द्रका रूपमा रहृयो । २०७५ सालमा पुनः इलाका प्रशासनका रूपमा रहेर पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाका जनतालाई सेवा दिँदै आइरहेको छ । यस कार्यालयमा कर्मचारी अभावकै कारण समयमै काम नभएको भन्दै समय–समयमा नागरिकले गुनासो गर्दै आइरहेका छन् ।
राहदानी, नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, अभिलेख पठाउने, दलित, जनजाति प्रमाणित, नामथर प्रमाणितलगायतका काम गर्दै आइरहेको प्रशासन कार्यालयमा हाल एकजना नासु, एकजना कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालनमा रहेको छ ।
जसमध्ये दुईजना स्थायी र दुईजना करारका कर्मचारी छन् । २०५४ देखि हालसम्म २४ जना कार्यालय प्रमुख फेरिइसके, बाहिरी क्षेत्रबाट कार्यालय प्रमुख आए पनि बस्नै नमान्ने कार्यालय प्रमुख लोकबहादुर कुँवरले बताउनुभयो । बाहिरबाट आउने कार्यालय प्रमुख दुई/तीन महिनामै सरुवा लिएर जाने गरेको उहाँको भनाइ छ । दरबन्दीअनुसारको कर्मचारीको समेत परिपूर्ति नभएका कारण आफूहरूलाई समयमै काम गर्न असहज भइरहेको कँुवरले बताउनुभयो ।




















