एजेन्सी := अष्ट्रेलिया आइसिसी टि-२० क्रिकेट विश्वकप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि होडको यात्रा पक्का गरेको हो ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पाकिस्तानले दिएको १ सय ७७ रनको बलियो विजयी लक्ष्य पछ्याएकाे अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नर अर्धशतक बनाउन एक रनबाट चुके । उनी ४९ रनमा क्याच आउट हुन पुगे ।
त्यस्तै, मिचेल मार्सले २८ रन बनाए । मार्कुस स्टोइनिस ४० रनमा अविजित रहे भने म्याथ्यूवाडेले अविजित ४१ रन जोडे । पाकिस्तानका लागि साहव खानले सर्वाधिक ४ विकेट लिए भने साहिन अफ्रिदीको हातमा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए । योसँगै रिजवानले एकै वर्षमा टि२० मा १ हजार रन बनाउने पहिलो खेलाडीको किर्तीमानीसमेत बनाएका छन् ।
त्यस्तै, फखार जमानले ५५ रनको अविजित योगदान दिए भने कप्तान तथा ओपनर बाबर आजम ३९ रनमा क्याच आउट भए। अष्ट्रेलियाका लागि तीव्र गतिका बलर मिचेल स्टार्कले २ विकेट लिए भने स्पिनर एडम जाम्पा र प्याट कमिन्सले समान १-१ विकेट लिए । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै न्युजिल्याण्ड फाइनल प्रवेश गरिसकेको छ ।




















