देउवासँग सभापतिमा समर्थन गर्न निधिको आग्रह, पौडेल पनि आफ्नै समूहको भेलामा व्यस्त
[ चिन्तन क्षेत्री ]
काठमाडौं := पार्टीको १४औँ महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसका नेताहरूले आन्तरिक छलफल तीव्र बनाएका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार आफूनिकट नेताहरूसँग छलफल गर्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफूनिकट नेताहरूलाई छलफलका लागि डाक्नुभएको छ ।
बैठकमा महाधिवेशनको तयारी सँगसँगै गठबन्धनले निर्माण गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रका बारेमा पनि कुरा उठेको थियो । उपसभापति विमलेन्द्र निधिले गठबन्धनले निर्माण गरेको ११ सदस्यीय संयन्त्रप्रति असहमति जनाउनुभएको छ । लोकतान्त्रिक सरकारले अवैधानिक बाटोबाट नियन्त्रित हुनेगरी कुनै समिति बनाउनु उपयुक्त नहुने भन्दै सभापति देउवाको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा उहाँले ११ सदस्य रहेको संयन्त्रमा असहमति रहेको बताउनुभएको स्रोतले जनाएको छ । निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो कम्युनिष्ट पार्टीको जस्तो सरकारलाई अवैधानिक अन्यत्रबाट नियन्त्रण गर्ने समिति अनुपयुक्त छ । लोकतान्त्रिक सरकारले यस्तो गर्नुहुँदैन । यो अमान्य छ ।’
सोमबार मात्रै गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्य रहेको उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । संयन्त्र निर्माणप्रति कांग्रेसकै अरू नेताहरूले पनि विरोध जनाइरहेका छन् । बुधबार मात्रै पूर्व-महामन्त्री प्रकाशमान सिंहले सरकारलाई नियन्त्रण गर्ने संयन्त्रको कुनै आवश्यकता नभएको बताउनुभएको थियो ।
यस्तै, उपसभापति निधिले सभापति देउवालाई गठबन्धन ‘आयु’का बारेमा पनि स्पष्ट हुन र कार्यकर्ताहरूलाई स्पष्ट पार्न आग्रह गर्नुभएको थियो । प्रतिनिधिसभा पुनःस्थापनाका लागि बनेको गठबन्धन आगामी निर्वाचनसम्म नै जाने भन्दै प्रचार भइरहेको उल्लेख गर्नुहुँदै उहाँले त्यो कांग्रेसका नेता कार्यकर्ताको भावनाविपरीत भएको बताउनुभयो ।
गठबन्धनको आयु प्रतिनिधिसभा जीवित रहँदासम्म मात्रै भएको उल्लेख गर्नुहुँदै बैठकमा उहाँले भन्नुभयो, ‘कतिपय मन्त्रीहरूले गठबन्धन चुनावसम्म छ भन्दै हिँड्नुभएको छ । मन्त्रीहरूले प्रचार गर्दैछन् । कांग्रेसका आम समर्थकहरूको भनाइ गठबन्धन भनेको प्रतिनिधिसभा रहेसम्म हो त्योभन्दा उता होइन । कांग्रेसले बहुमत ल्याउनुपर्छ । त्यसका लागि एक्लै निर्वाचन लड्नुपर्छ भन्ने छ । सोहीअनुसार जानुपर्छ ।’
बैठकको सुरुमै उपसभापति निधिले १४औँ महाधिवेशनमा सभापतिमा आफूलाई सहयोग गर्न देउवालाई आग्रह गर्नुभएको थियो । १३औँ महाधिवेशनको समयमा आफूसँग गरेको वाचाअनुसार सहयोग गर्नुपर्ने कुरा निधिले राख्नुभएको बैठकमा सहभागी एक नेताले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निधिजीले बैठकको सुरुमै म सभापतिको पनि उम्मेदवार हो र पुनः तपाईंलाई जानकारी गराउँछु, भन्नुभयो । त्यसपछि तपाईंले मलाई शुभकामना दिनुपर्छ । र १३औँ महाधिवेशनमा दिएको वचनको पालना गर्दै मलाई समर्थन दिनुपर्छ भन्नुभयो ।’
सभापति देउवाले पनि निधिलाई मेरो शुभकामना छ तपाईंलाई भनेर निधिलाई जवाफ दिनुभएको ती नेताले बताउनुभयो । लगत्तै देउवाले ‘१५औँ महाधिवेशनलाई पो शुभकामना दिएको त काँ १४औँ लाई हो’ भनेर भन्नुभएको थियो । निधिले बैठकबाट हिँड्ने बेलासमेत आफू सभापतिका लागि लड्ने र समर्थन गर्नुपर्ने दोहो¥याउनुभएको ती नेताले हिमालय टाइम्ससँगको कुराकानीमा भन्नुभयो ।
बिहीबार महाधिवेशन तयारी र अन्य आन्तरिक विषयमा छलफल गर्न सभापति देउवाले आफूनिकट नेताहरूलाई बालुवाटार बोलाउनुभएको थियो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनको तयारीका विषयमा सामान्य कुराकानी भएको बताउनुभयो । ‘नेताहरूबीच लामो समयदेखि औपचारिक भेटघाट नभएको अवस्थामा हामी भेट्न मात्रै गएका हौँ । कुनै विशेष कुराकानी भएन । तर, महाधिवेशनको तयारीका विषयमा सामान्य छलफल भयो,’ उहाँले भन्नुभयो ।
बैठकमा उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री महत र केन्द्रीय सदस्य मीना उपाध्यायलगायत नेताहरूको सहभागिता रहेको थियो । कांग्रेसले २७ गते पदाधिकारी तथा पूर्व-पदाधिकारी र २८ गते केन्द्रीय समिति बैठक पनि बोलाएको छ । १४औँ महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने नेताहरूको संख्या बढ्दै गएकाले पनि अहिले टिम मिलाउन शीर्ष तहमा प्रयास जारी छ ।
विभिन्न जिल्लामा वडा अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लाहरूमा शनिबारबाट अधिवेशनको प्रक्रिया थालनी हुने भएको छ । सिन्धुपाल्चोकको बाँकी वडासहित डोल्पा, बाँके, कैलाली, सप्तरी, सुर्खेत, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रसुवा र रौतहटमा शनिबार वडा अधिवेशन हुँदैछ ।
यता, शुक्रबारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफूनिकट नेताहरूको छलफल डाक्नुभएको छ । केन्द्रीय कार्यसमिति बैठकमा समूहको धारणा तय गर्न बैठक बोलाइएको एक नेताले बताउनुभयो । बैठक बसुन्धाराको एक होटलमा शुक्रबार दिउँसो साढे २ बजेका लागि आह्वान भएको छ ।
२८ गतेको बैठकमा महाधिवेशन तयारी, पार्टीका विभिन्न तहमा भएका अधिवेशनको समीक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा छ । बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समिति गठन पनि गर्नेछ । लामो समयपछि केन्द्रीय समिति बैठक बसेकाले समसामयिक राजनीतिबारे पनि छलफल हुने बताइएको छ । न्यायालयको विवाद, उच्चस्तरीय समन्वय समिति गठनलगायत विषयमा पनि छलफल हुनेछ ।




















