निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने (तालिकासहित)

काठमाडौं:= राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो ।

सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ । निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उहाँको भनाइ छ ।

टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ । टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यू तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो । गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।

 

क्र.सं.      क्षेत्र                                      वायुसेवा

१   काठमाडौँ–बैंकक–सोल        नेपाल एयरलाइन्स–थाइ एयरवेज

२   काठमाडौँ–बैंकक–सिड्नी  नेपाल एयरलाइन्स–थाइ एयरवेज

३   काठमाडौँ–बैंकक–टोक्यो        नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स

४   काठमाडौँ–दोहा–कुवेत         नेपाल एयरलाइन्स–कुवेत एयरवेज

५   काठमाडौँ–दुबई–कुवेत         नेपाल एयरलाइन्स–कुवेत एयरवेज 

६   काठमाडौँ–दुबई–जुरिच        नेपाल एयरलाइन्स–इमिरेट्स

७   काठमाडौँ–दुबई–लण्डन        नेपाल एयरलाइन्स–इमिरेट्स

८   काठमाडौँ–दुबई–फ्र्याङ्कफर्ट      नेपाल एयरलाइन्स–इमिरेट्स

९   काठमाडौँ–दुबई–पेरिस         नेपाल एयरलाइन्स–इमिरेट्स

१०   काठमाडौँ–दुबई–बहराइन        नेपाल एयरलाइन्स–इमिरेट्स