चन्द्रौटाका दुई पसलमा आगलागी, रु.९० लाख रुपैयाँ बढीको क्षति।

[ राम अवतार चाैधरी ] 

कपिलवस्तु:= कपिलवस्तुको शिवराज-५, चन्द्रौटाका दुई पसलमा आगलागी भएकाे छ । उक्त पसलमा आगलागी हुँदा ९० लाख रुपैयाँ बढीको क्षति भएको बताइएको छ । चन्द्रौटा चोक देखि एक सय मिटर पश्चिममा अवस्थित दुई पसलमा मंगलबार राती करिब १० बजे आगो लागेको बुझिएको छ।

चन्दौटा फिक्स सप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगलागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएकाे छ । आगलागीबाट दुबै पसलका सबै सामाग्री नष्ट भएका छन् । दुवै पसलमा गरी करिब ९० लाख बराबरको क्षति भएको चन्द्राैटाका प्रहरी निरीक्षक शंकर प्रसाद आचार्यले जनाए।

फेन्सी पसलको ५० लाख र कम्प्युटर पसलको ४० लाख रुपैयाँ बढीको सामाग्री जलेको व्यवसायीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब दुई घण्टापछि आगो निभाइएको बताइएको छ।

उक्त कम्प्युटर पसल भित्रको बिजुली तार सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको भनाई छ । आगलागीको कारण खुल्न भने सकेको छैन । आगलागीबाट भएको क्षति विवरण संकलन तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।