आज छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यको पुजा,आराधना गरी मनाइँदै।

काठमाडौं:= छठ पर्वको मुख्य दिन आज (बुधबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । तीन दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउन लागिएको हो।

मिथिला क्षेत्रमा विशेष हर्षोल्लासपूर्वक मनाइने यो पर्वको पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा पनि विशेष रौनक हुने गर्दछ । कुनै समय तराईमा मनाइने यो पर्व समयसँगै पहाडतिर उक्लिन थालेको छ । यो पर्वको क्षेत्र विस्तार हुँदै गएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अघ्र्य दिइँदैछ । बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

उक्त समयमा पाण्डव विराट् राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गर्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ । छठ पर्वको अवधिमा कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।

दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एकछाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिई रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा–आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।

छठ पर्वका पूर्व तराईका नदी, पोखरी विशेष रूपमा सजाइएको छ भने काठमाडौंको गुहृयेश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा बागमती, नक्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिन्छ । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अन्य विभिन्न दलका प्रमुख नेता तथा अन्य नेताहरूले शुभकामना दिनुभएको छ ।