फेरिए तीनवटा प्रदेशको प्रमुख, चार वर्षमा २४ पटक हेरफेर।

काठमाडौं:= तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरू फेरेको हो । प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले तीनजना प्रमुखलाई मंगलबार नियुक्त गर्नुभएको हो ।

सरकारको सिफारिसमा संविधानको धारा १६३ को उपधारा २ अनुसार खापुङ, परियार र जोशी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको हो । यसअघि प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख हुनुहुन्थ्यो । केपी शर्मा ओली नेतृत्वको सरकारले प्यासीलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । प्यासीभन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गोविन्द्रबहादुर तुम्बाहाम्फेलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । २०७४ माघ ३ मा नियुक्ति पाउनुभएका तुम्बाहाम्फेलाई ओली नेतृत्वको सरकारले २०७६ कात्तिकमा हटाएको थियो ।

उता, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनीलाई पदमुक्त गर्दै परियारलाई नियुक्त गरिएको हो । ओली नेतृत्वको सरकारले कलौनीलाई २०७६ कात्तिकमा नियुक्त गरेको थियो । त्यसअघि देउवा नेतृत्वको सरकारले तत्कालीन समयमा २०७४ माघ ३ मा दुर्गाकेशर खनाललाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएको थियो ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख रहनुभएका गंगाप्रसाद यादवलाई ओली सरकारले २०७८ वैशाखमा प्रदेश प्रमुख नियुक्त गरेको थियो । त्यसअघि ओली नेतृत्वको सरकारले २०७४ माघ ३ गते नियुक्त हुनुभएका मोहनराज मल्ल पदमुक्त गर्दै २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले मल्ललाई पदमुक्त गरेर शर्मिला त्रिपाठीलाई नियुक्त गरिएको थियो । ओली सरकारले नै ०७८ वैशाखमा त्रिपाठीलाई पदमुक्त गरेको थियो ।

सरकार परिवर्तन हुनेबित्तिकै प्रदेश प्रमुख फेरिने परिपार्टीका कारण करिब चार वर्षमा ७ वटा प्रदेशमा २४ पटक प्रदेश प्रमुख फेरिएका छन् ।

‘मोतीपुर घटनाका मृतक परिवारलाई राहत दिने निर्णय’

सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले राहत उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । यस्तै, सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

कुस्मामा ४०० केबी सबस्टेसन र जुम्ला सबस्टेसनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाई प्रोभिन्सस्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय भएको पनि बताउनुभयो ।

प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को जेनेभामा सञ्चालन हुने स्पेसल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ली, डब्ल्युएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्वीकृत दिने निर्णयसमेत गरेको छ । मन्त्री कार्कीले खोप लगाउनयोग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताउनुभयो ।