एमाले पार्टीको अध्यक्ष पदमा भिम रावलले प्रतिस्पर्धा गर्ने।

अछाम := नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा लड्ने संकेत गर्नुभएको छ। मंगलबार गृहजिल्ला अछाम पुगेर नेता रावलले कार्यकर्ताको भावनाअनुसार आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गर्नुभएको हो ।

अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता रावलले हार्ने/जित्ने ठूलो कुरा नभएकाले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताउनुभयो । ‘तपाईंहरू जेमा उठ् भन्नुहुन्छ म त्यसमै उठ्छुु, उहाँले भन्नुभयोे, ‘कार्यकर्ताले अध्यक्षमा उठ्नु भनेका छन् । तपाईंहरूले पनि त्यही भन्नुभएको छ । यो आवाजलाई कमजोर हुन दिन्नँ ।’

उहाँले पार्टीका आन्तरिक र आमचुनावमा समेत नेताहरू पराजित भएको स्मरण गर्दै जित/हार ठूलो कुरा नभएको तर्क गर्नुभयो । उहाँले १०औँ महाधिवेशनमा कार्यकर्ताको स्वाभिमान र भावनालाई झण्डाझैँ बलियो गरेर समात्ने भन्दै हार्ने/जित्नेको चिन्ता नलिन आग्रह गर्नुभयो ।

‘तपाईंहरू जे भन्नुहुन्छ म त्यसैमा उठ्छु । कतिपय नेता कार्यकर्ताले पराजित भए के हुन्छ ? भनेर पनि सोध्छन्,’ उहाँले भन्नुभयो, ‘तर, हार्ने/जित्ने ठूलो कुरो होइन । चुनावमा लडेपछि नहार्ने को छ ? केपी ओलीले आठौँ महाधिवेशन हारेका होइनन् ? संविधानसभाको निर्वाचनमा ओली झापाबाट चुनाव हारेका होइनन् ? अनि माधव नेपालले काठमाडौंबाट हारेका होइनन् ? हार्ने कुरा के ठूलो कुरा भयो र !’

सुदूरपश्चिम कमिटीको बैठक अवैध, बैठकका निर्णय अमान्य

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताउनुभएको छ । मंगलबार बैठक बस्ने दिन रावलले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित् र गुटबन्दीको नमुना भएको प्रतिक्रिया दिनुभएको हो । उक्त बैठक र त्यसका निर्णयहरू अवैध र अमान्य हुने पनि उहाँले बताउनुभयो । उहाँले अपानि १२ झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने ? भन्दै प्रश्नसमेत गर्नुभएको छ ।

उहाँले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि? भन्दै आक्रोशसमेत पोख्नुभएको छ । ‘मंगलबारको कथित् सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ,’ उहाँले भन्नुभएको छ,‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सुपमा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’

सामाजिक सञ्जालमा नभई कमिटीमा आफ्ना भनाइ राख्न प्रदेश अध्यक्ष र इञ्चार्जको आग्रह

भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटी बैठकलाई अवैध तथा निर्णय अमान्य हुने बताएपछि प्रदेश अध्यक्ष र इञ्चार्जले आपत्ति जनाएका छन् । सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलले पार्टीमा विवाद निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ ।

आफूले फोन गरेर बैठकमा आउन आग्रह गर्दा पनि नआएका रावलले सामाजिक सञ्जालबाट पार्टीविरुद्धका गतिविधि पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खोजेको उहाँको टिप्पणी छ । ‘फोन गरेर प्रदेशस्तरीय बैठकमा आउन आग्रह गर्दा आउँदिनँ भन्ने रावलले सामाजिक सञ्जालमार्फत पार्टीमा विवाद निम्त्याउन खोजेका छन्,’ प्रदेश कमिटीको पूर्ण बैठकमा थापाले भन्नुभयो, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ ।’ उहाँले सामाजिक सञ्जालमार्फत नभई बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गर्नुभएको छ ।

त्यस्तै, एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्न सुझाव दिनुभएको छ । रावलले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इञ्चार्ज भट्टले सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्न सुझाव दिनुभएको हो ।

एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इञ्चार्ज भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउनुभयो । ‘आफ्ना मतलाई व्यक्त गर्ने, कमिटी प्रणाली छ, संगठनात्मक कमिटी प्रणालीबाट भिन्न मतलाई छलफल र समाधान गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो, ‘कसैलाई चित्त बुझेन भने कमिटीमै राख्नुपर्छ ।’