एजेन्सी:= अमेरिकी र्यापर ट्राभिस स्कटले कन्सर्टमा प्रस्तुति दिइरहेका बेला दर्शकको भिडभाडबढ्दा आठजनाको मृत्यु भएको छ । कन्सर्टमा दर्शकको भिडभाडमा किचिएर र निस्सासिएर कयौं बेहोस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार राति आयोजित एस्ट्रोवल्र्ड म्युजिक फेस्टिभलमा ट्राभिसले गीत गाइरहँदा पचासहजार बढी दर्शकको उपस्थिति थियो । उक्त कन्सर्ट टेक्सासको हाउस्टनस्थित एनआरजी पार्कमा भएको थियो । सिएनएनका अनुसार जब ट्राभिसको प्रस्तुति सुरु भयो, तब भिड उत्तेजित भयो । दर्शकहरू सबै अगाडितिर उर्लिएर हुत्तिन थाले ।
साह्रै कोचमकोच भएपछि अक्सिजन कम भएर मान्छेहरू बेहोस हुन र मर्न थालेको सिएनएनले लेखेको छ । यसरी मृत्यु हुनेमा १४ वर्षदेखि २७ वर्ष उमेरका छन् । उनीहरू १४, १६ र २७ वर्षका एक–एकजना र २१ र २३ वर्षका दुईजना छन् भने एकजनाको उमेर खुलेको छैन । त्यस्तै २५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ । उनीहरूमध्ये पाँचजना १८ वर्षभन्दा कम उमेरका छन् ।
कन्सर्टको थिचोमिचोमा परेर दर्शकको मृत्यु भइरहँदा र्यापर ट्राभिसले गाइरहनुभएको थियो । कन्सर्टको सार्वजनिक भिडिओमा उहाँ बीचमा अलमल परेको देखिन्छ । मान्छेको भिडमा एम्बुलेन्सको साइरन र आवाज देखेपछि ‘के भइरहेको हो’ भनेर सोधेको देखिन्छ । पछि दर्शक र आयोजकले भनेपछि उहाँले गाउन छाड्नु भएको थियो । तर भिडको अवस्था डरलाग्दो हुन थालेपछि हुस्टन प्रहरी र सुरक्षाकर्मी नै आएर कन्सर्ट रोक्नुपरेको सिएनएनले जनाएको छ ।
सहभागी दर्शकमध्ये एक २२ वर्षीया एमिली मुंगुइयाले सिएनएनसँग कुरा गर्दै भन्नुभएको छ, ‘भिडले मलाई यति धेरै थिचेको थियो कि मलाई सास फेर्न निकै गाह्रो भएको थियो । म मद्धतका लागि चिच्याउन थाले, मलाई यति डर लाग्यो, म मर्छु जस्तो लागेको थियो ।’ सन् २०१८ मा ट्राभिस स्कटले एस्ट्रोवल्र्ड नामक एल्बम रिलिज गर्नुभएको थियो । उहाँले त्यही एल्बमका नाममा एस्ट्रोवल्र्ड म्युजिक फेस्टिभल आयोजना गर्नुभएको हो ।




















