पाँच महिनाभित्र गौतम बुद्ध विमानस्थलमा उडान।

काठमाडौं:= नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने दाबी गर्नुभएको छ । बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिति) को काम लगभग सकिसकेको भन्दै आगामी पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने दाबी गर्नुभएको हो । उहाँले अबको एक महिनामा केलिब्रेसन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोरोना, केलिब्रेसन फ्लाइट नेपालसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको बताउनुभयो । उहाँले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताउनुभयो । महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल एन्फास्ट्रक्चरको काम ८० प्रतिशत सकिएको बताउनुभयो । उहाँले सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्यान्डफिल्ड बनाइदिए आगामी छ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताउनुभयो।

महानिर्देशक क्षेत्रीले युरोपियन युनियन (इयू) ले नेपालको एयरलाइन्सलाई कालोसूचीमा राखेकाले त्यसबाट हटाउन पहल भइरहेको बताउनुभयो । आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनयोग्य बनाउने उहाँले बताउनुभयो । महानिर्देशक क्षेत्रीले आफ्नो पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क दुई हजारबाट एक हजार दुई सयमा झारेको बताउनुभयो । पोखरा विमानस्थलमा भैरहवाभन्दा राम्रो विमानस्थल बन्न लागेको र निकट भविष्यमै सञ्चालनमा आउने बताउनुभयो ।