एजेन्सी := प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । विश्व जलवायु सम्मेलन (कोप २६) मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला मंगलबार उहाँहरूबीच भेटवार्ता भएको हो ।
उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको हो । सो अवसरमा वनमन्त्री रामसाय यादव तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू सहभागी हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदा आफूलाई खुसी लागेको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत जनाउनुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, ‘कोप २६ मा नरेन्द्र मोदीजीलाई भेट्दा खुसी लागेको छ, हामीले शेयर गरिरहेको हिमाली क्षेत्र जुन विशेष रूपमा जोखिममा छ त्यसको भविष्यका लागि दिगो विकास अपरिहार्य छ ।’
साथै प्रधानमन्त्री देउवाले सन्देशमा अगाडि भन्नुभएको छ, ‘यो विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिनुभएकोमा म धन्यवाद दिन चाहन्छु ।’ साथै भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको जोखिमलाई ठीक ढंगले उठाउनुभएको भन्दै उहाँको प्रशंसा गर्नुभएको छ ।
मंगलबारै प्रधानमन्त्री देउवासँग श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नुभएको छ । यसैगरी, संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नुभयो ।




















