काठमाडौं:= नयाँ चलचित्र ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रूपमा सार्वजनिक गरेको हो । चलचित्रको रिलिज मिति आगामी १७ मंसिरसमेत तोकिएको छ। अमेरिकामै सम्पुर्ण छायांकन भएको चलचित्र दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रालिको संयुक्त व्यानरमा निर्माण भएको हो ।
प्रेम, रोमान्स र एक्सन समेटिएको चलचित्र सुमन पौडेलले निर्देशन गर्नुभएको हो । प्रनिशराज पन्त, सविनजंग थापा, विना श्रेष्ठ, स्वामी डी, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको मुख्य भूमिका रहेको चलचित्र जीवनकुमार केसीले निर्माण गर्नुभएको हो ।
चलचित्र युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण भएको निर्माता जीवनकुमार केसीले बताउनुभयो । ‘दर्शक हाम्रो भगवान हुन् । उहाँहरूको रुचि फिल्म निर्माणको क्रममा ध्यान दिइएको छ’ निर्माता केसीले भने ‘फिल्म सबैले रुचाउँने छन् ।’ ‘ओभर डोज’ रिलिजको अर्को उद्देश्य फिल्म क्षेत्र चलायमान गराउनुसमेत रहेको निर्माता केसीले सुनाउनुभयो ।
चलचित्रमा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाइको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुनुहुन्छ । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको चलचित्र जि.जी ग्रूप उपत्यका र एफ.डी कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।
अब चलचित्र क्षेत्रलाई चलायमान गराउने उद्देश्यले चलचित्र ‘ओभर डोज’ रिलिज गर्न लागेको वितरक करण श्रेष्ठले बताउनुभएको छ । ‘ओभर डोज’मात्र होइन । त्यसपछि पनि म लगातार चलचित्र रिलिज गर्छु’ उहाँले भन्नुभएको छ ।




















