एजेन्सी := जी-२० देशका नेताहरूले जलवायु परिवर्तनको बारेमा प्रतिबद्धतामात्रै जाहेर गरेका छन् । कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक काम गरेका नेताहरूले जलवायु परिवर्तनमा भने खासै उल्लेख्य निर्णय गर्न न सकेको भनिएको छ ।
विश्वका समृद्ध अर्थतन्त्र भएका १९ मुलुक तथा युरोपेली युनियन मिलेर बनेको जी-२० समूहले विश्वको कार्बन उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छ । समूहका नेताहरू ‘अर्थपूर्ण र प्रभावकारी कार्यहरू’ गर्दै ग्लोबल वार्मिङलाई सीमित गर्ने प्रयास जारी राख्न सहमत भएका छन् ।
इटालीको रोममा भएको जी-२० सम्मेलनले केही ठोस प्रतिबद्धता जाहेर गरेपनि अभियान्तालाई सन्तुष्ट बनाउन भने सकेन । जी-२० को प्रतिबद्धता पर्याप्त नभएको उनीहरूको गुनासो छ । शनिबार अर्थतन्त्र र कोभिडको बारेमा भएको छलफलपछि जी-२० देशका नेताहरूले ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका थिए ।




















