प्रचण्डलाई ओलीको चेतावनी : मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्नुस्।

अहिलेको सरकारलाई लुतो लागेको कुकुर जस्तै खुइलिँदै गएको ओलीले टिप्पणी गर्नुभयो।

काठमाडौं:= साबिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि नेताहरू एक–अर्काप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । कम्युनिष्ट नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्दै आगामी निर्वाचनको तयारी भइरहेका बेला एक-अर्कालाई आरोपित गर्ने र एक-अर्काविरुद्ध टिप्पणी गर्ने क्रम अझै कम भएको छैन।

विशेष गरी एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आरोप-प्रत्यारोपको शृंखला जारी छ । यसैबीच, एमाले अध्यक्ष ओलीले प्रचण्डको गृहजिल्ला चितवन पुगेर मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिनुभएको छ।

भरतपुर महानगरको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले अर्को चुनावमा विगत जस्तो धाँधली गरेर जित्ने सपना नदेख्न चेतावनी दिनुभएको हो।  ‘अब बुथ कब्जा गरेर, बत्ती निभाएर, मतपत्र च्यातेर जे गरेर भए पनि जित्नुपर्छ भन्दैछन् । हामी बत्ती निभाएर होइन, मतपत्र च्यातेर होइन, धाँधली गरेर होइन जनताको पवित्र मतले जित्छौँ । अब कसैले पनि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ।’

उहाँले चितवनमा एमाले एक्लैलाई विजयी गराउने गरी अभियानमा लाग्न नेता कार्याकर्ताहरूलाई निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘अब तपाईंहरूले एमालेलाई एक्लै विजयी बनाउन लाग्नुस् । यस जिल्लालाई म धेरै दुःख दिन्नँ तीनवटा संघीय सांसद चाहियो । ६ वटा प्रदेशसभा सांसद चाहियो । एकजना साथीले भनेछन् वडाहरूमा हामी दुईतिहाइ जित्छौँ । अनि एकतिहाइ चाहिँ कसले जित्छ नि?

‘गठबन्धनलाई एक्लै हराउँछौँ’

अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन चुनावमा जान डराएकोे आरोप लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धोबीले लुगा पछारेजस्तै गरेर पछार्नुपर्ने पनि ओलीले बताउनुभयो । भरतपुर महानगरमा एमालेले नै निर्वाचन जित्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘चुनावबाट कहिलेसम्म भाग्लान् यिनीहरू ? स्थानीय तहको चुनावमा यिनीहरूलाई धोबीले लुगा पछारेझैँ पछार्नुपर्छ । भरतपुर महानगरमा जित्ने एमाले नै हो । आजैदेखि नै एकताबद्ध भएर तयारी गर्नुस्।’

उहाँले अब एमालेमा देखिएको विवादलाई बिर्सिएर अघि बढ्न पनि आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले पाँच दल एकसाथ लडे पनि एमाले एक्लै काफी हुने बताउनुभयो । एमाले जित्नका लागि चुनाव लड्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘हामी जित्नका लागि लड्छौँ । चुनावसम्मै हामी पाँचवटा मिल्छौँ भनिरहेका छन् । पाँचवटै मिलेर जाऊ हामी एक्लै काफी छौँ।’

‘सरकार लुतो लागेको कुकुर जस्तै खुइलिँदै गएको छ’

अध्यक्ष ओलीले वर्तमान सरकारको चर्को आलोचना गर्नुभएको छ । दुईपटक संसद् विघटन गरेपछि सर्वोच्च अदालतले सरकारबाट विस्थापन गराएपछि ओलीले अदालत र सरकारप्रति कडा टिप्पणी गर्दै आउनुभएको छ । उहाँले अहिलेको सरकारलाई लुतो लागेको कुकुर जस्तै खुइलिँदै गएको टिप्पणी गर्नुभयो।

शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकार आफैं ढल्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘हामी यो सरकारलाई केही गर्दैनौँ । हाम्रो तयारीमा जुटिसकेका छौँ । तर, यो सरकार चल्दै जान्छ, लुतो लागेको कुकुरझैँ खुइलिँदै जान्छ । हामीले चाह्यौँ भने सजिलै ढाल्न सक्छौँ । तर, हामी यसलाई चलाउँदैनौँ।’