काठमाडौं:= चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण बर्खाभन्दा अघि नै सक्ने लक्ष्य राखिएको छ। विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी चार सय १५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
आयोजना २०७१ साउनमा आएको जुरे पहिरो, विनाशकारी भूकम्प, करिब साढे पाँच महिना नेपाल-भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी-पहिरो र कोरोनाको चपेटामा आयोजना परेको थियो ।
प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रो मेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।
टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर करिब-करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङबाहेक अन्य संरचनाको निर्माण प्रगति उत्साहजनक देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले महँगो व्याजमा ऋण काढेर भए पनि सेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजानको लागत बढिरहेको छ भने विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन् । निर्माणमा देखिएका समस्या पहिचान गरी समाधान र सहजीकरण गर्न हामी सधंै तयार छौं, आयोजनाको स्वामित्व लिई टिम बनाएर काम गरौं, अब संशोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अघि बढौं ।’
प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्य सम्पादनमा सुधार आएकाले हालकै गतिमा काम भए तोकिएको समयमा सम्पन्न हुने देखिएको बताउनुभयो । ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरण बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको व्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरूमध्येमा नेपाल विद्युत् प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावरको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीकोे १, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ सेयर रहेको छ । कम्पनीले साधारण सेयर निष्काशन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार रहेका छन् । कम्पनीलाई वार्षिक दुई अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने बताइएको छ ।




















