टी-२० विश्वकपः अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनल नजिक।

दुबई (युएई) := अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो ।

जितसँगै सानदार लयमा रहेको इंग्ल्यान्ड ६ अंकसहित समूहको शीर्षस्थानमा छ । उसको रनरेट पनि प्लस ३.९५ को रहेकाले सेमिफाइनल पुग्ने लगभग तय भएको हो । हारसँगै अस्ट्रेलिया भने समूहको तेस्रो स्थानमा खस्किएको छ । उसको चार अंक छ भने समान अंक भए पनि रनरेटमा अघि रहँदै दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।

जितका लागि १२६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११.४ ओभरमा २ विकेट गुमाएरै भेट्टाएको थियो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ३२ बलमा ५ चौका र ५ छक्कासहित ७१ रनमा अविजित रहनुभयो । अर्का ओपनर जेसन रोयले २० बलमा १ चौका र १ छक्कासहित २२ रन जोड्नुभयो ।

डेबिड मलानले आठ रन बनाउनुभयो भने जोनी बेयरस्टो ११ बलमा दुई छक्कासहित १६ रनमा अविजित रहनुभयो । अस्ट्रेलियाका स्पिनर एडम जाम्पा र एस्टन अगरले १-१ विकेट लिनुभयो ।

त्यसअघि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमै अलआउट भएको थियो । अस्ट्रेलियाका ओपनर तथा कप्तान आरोन फिन्चले ४९ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिनुभयो ।

चौथो ओभरमा नै अस्ट्रेलिया १५-३ को कमजोर अवस्थामा पुगेको थियो । स्पिनर आदिल राशिदले मार्कस स्टोइनिसलाई शून्यमा एलबीडब्लु आउट गर्दा अस्ट्रेलियाले छैटौं ओभरमा ४ विकेट गुमाएर जम्मा २१ रन जोडेको थियो ।

विकेट किपर म्याथ्यु वेड १८ बलमा २ चौकासहित १८ रनमा क्याच आउट हुनुभयो । तल्लोक्रममा एस्टन अगरले २० बलमा २ छक्कासहित २० रन जोडेपछि अस्ट्रेलिया सो स्कोरमा पुगेको थियो ।

इंग्ल्यान्डका क्रिस वोक्सले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिनुभयो । क्रिस जोर्डनले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट तथा टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १-१ विकेट लिनुभयो ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो । अस्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्‍यो । इंग्ल्यान्डले अब सोमबार श्रीलंकासँग खेल्नेछ । अस्ट्रेलियाले बिहीबार बंगलादेशसँग खेल्नेछ ।