लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल कोसेढुंगा: राष्ट्रपति भण्डारी।

भैरहवा:= राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले लुम्बिनीको विकासका लागि विमानस्थल कोसेढुंगा सावित हुने उल्लेख गर्दै बाँकी रहेका काम छिट्टै सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारलाई निर्देशनसमेत दिनुभएकोे हो । राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो ।’ राष्ट्रपति भण्डारीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा राखिएको बहमूल्य बुद्धमूर्तिको अनावरण गर्दै भन्नुभयो, ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्धस्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्न सक्दा नै मानवकल्याण हुनेछ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य छिट्टै सक्न निर्देशन दिँदै राष्ट्रपति भण्डारीले विमानस्थबाट विश्वभरबाट पर्यटक आउन सके लुम्बिनीको विकास हुने तथा विश्वभर शान्तिको सन्देश फैलाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले लुम्बिनीको विकासका लागि सबैले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सबैको साझा मत हुनुपर्ने धारणा पनि राख्नुभयो ।राष्ट्रपति भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्न लुम्बिनी गुरुयोजनालाई पनि छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा समेत जोड दिनुभयो ।

उहाँले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजागर गर्दै यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताउनुभयो । ‘यहाँ योग र ध्यान जस्ता साधना तथा खोज र अनुसन्धान गर्नसक्ने परिवेशसहितको बुद्ध संस्कृतिसँग जोडिएका स्तुप र आकर्षक पूर्वाधारको विकास गरी स्वदेशी तथा विदेशी पर्यटकलाई न्यानो आतिथ्य दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा पर्यटकलाई दिने उत्कृष्ट सेवा तथा सत्कारले उक्त दर्शनको मूलमर्म र भावना पहिल्याउन योगदान पुग्छ ।’

विशेष प्रकारको धातुद्वारा निर्मित बुद्धको प्रतिमा अनावरणले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । उहाँले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सतमार्गमा रहन सन्देश दिने बताउनुभयो ।

विमानस्थल निर्माणको कामले छिट्टै पूर्णता पाउँछ : गृहमन्त्री खाँण

कार्यवहाक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल निर्माणको कामलाई छिट्टै पूर्णता दिने बताउनुभयो । उहाँले विमानस्थल निर्माणका आवश्यक निर्माणको कामलाई पूर्णता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै मन्त्री खाँणले विमानस्थल छिट्टै सुचारु गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विमानस्थलको काम अविलम्ब सम्पन्न गरी उद्घाटन गर्ने अवस्थामा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

मन्त्री खाँणले बुद्धको त्याग र तपस्या नेपालीका लागि अनुकरणीय रहेको बताउँदै ‘बुद्धको ज्ञानलाई व्यावहारिक जीवनमा अनुशरण गर्न आवश्यक छ’, भन्नुभयो । यसले समाज परिवर्तनमा सहयोग पुग्ने उहाँले बताउनुभयो। गौतम बुद्धको जन्म नेपालमा भएको भन्ने कुरा संसारभर स्थापित भएको उल्लेख गर्दै अब बुद्धको दर्शन र ज्ञानलाई व्यावहारिक प्रयोगमा ल्याउने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको गृहमन्त्री खाँणले बताउनुभयो ।

‘नेपाल सामाजिक, धार्मिक, सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुक भएको बताउँदै गृहमन्त्री खाँणले यो नेपालको महत्वपूर्ण विशेषता र सम्पदा भएको जिकिर गर्नुभयो । एकले अर्कालाई सम्मान गर्ने हाम्रो परम्परा हो यो विश्वमै अनुकरणीय छ । यसलाई विमानस्थलमा राखिएको महाकरुणा मूर्तिले थप बल प्रदान गर्नेछ’, उहाँले भन्नुभयो ।

यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमबुद्धले दिनुभएको शान्ति र अहिंसाको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै बुद्ध दर्शनले बाह्य मुलुकलाई नेपाल र नेपालीसँग जोड्ने काम गरेको बताउनुभयो । विज्ञान र प्रविधिमा भएको विकास तथा अस्त्र र शस्त्रको निर्माणले मानवजातिलाई असर गरेको उल्लेख गर्दै हत्या र हिंसाले शान्ति सम्भव नहुने भएकाले विकास शान्ति, विकास र समृद्धिमा केन्द्र हुनुपर्ने धारणा राख्नुभयो ।

स्पेनका सभामुख बलान्का मार्टिक डेल्गाडोले बुद्ध र शान्तिको सन्देशले स्पेन र नेपाललाई जोड्ने अभियानमा रहेको बताउनुभयो । उहाँले नेपालमार्फत एसियामा राम्रो सम्बन्ध विस्तार गर्न चाहेको उल्लेख गर्नुभयो । लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोसे म्यानुअल भियानोले बुद्ध संस्कृति र दर्शनलाई विश्वभर चिनाउन दुई देशको सहकार्यले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

करिब दुई अर्ब ५० करोड रुपैयाँबराबरको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको हो । सो बुद्धमूर्ति म्यानमारस्थित खानीसम्बन्धी कम्पनी मालबिन गु्रपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो । एक हजार ८०० केजी तौल भएको बुद्धमूर्ति एक दशमलव नौ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यानमार, हङकङ, भारत हुँदै कोलकाता बन्दरगाहबाट कात्तिक ४ गते भैरहवा आइपुगेको थियो ।