काठमाडौं:= पार्टी विभाजनको पीडाबाट उठ्न नसकेको नेकपा एमालेमा फेरि नेताहरूबीच खटपट सुरु भएको छ । तत्कालीन समयमा माधवकुमार नेपालले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गरेर एमालेमै बसेका नेताहरू अहिले नेतृत्वसँग असन्तुष्ट देखिएका छन् । पार्टी विभाजन अघिसम्म नेपालसँग रहेर ओलीविरुद्ध अभिव्यक्ति दिँदै आएका नेताहरूले अन्तिम समयमा १० बुँदे सहमति गर्दै नेपालको साथ छाडेका थिए ।
अहिले नेपाल नयाँ पार्टी दर्ता गरेर त्यसको नेतृत्वमा हुनुहुन्छ तर एमालेमा नै रहनुभएका उपाध्यक्ष भीम रावललगायतका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग वादविवादमा नै व्यस्त हुनुहुन्छ । आगामी मंसिरमा पार्टीको महाधिवेशनका लागि मिति तय भए पनि नेताहरू एक–आपसमा नै भिडिरहनुभएको हो । एमालेमा अहिले पनि १० बुँदे सहमतिको विवाद जारी नै रहेको छ ।
अध्यक्ष ओलीले १० बुँदे सहमति पालना गर्न नखोजेको आरोप अर्को पक्षले लगाउँदै आएको छ । सोही कारण विवाद बढ्दै गएको हो । सहमति कार्यान्वयनमा नआएको भन्दै उपाध्यक्ष रावलले कार्यदलबाट राजीनामा दिनुभएको छ । गत कात्तिक ५ गतेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिने घोषणा गर्नुभएका रावलले १० गते ओलीलाई लिखित राजीनामा बुझाउनुभएको थियो ।
विगतमा नेपाल समूहलगायतका नेताहरूलाई बेवास्ता गर्दै आउनुभएका अध्यक्ष ओलीले अहिले तेस्रो धारका नेताहरूको कुरा सुन्न छाडेपछि नेताहरू रुष्ट देखिन्छन् । विगतमा ओली र नेपालको सम्बन्ध बिग्रिँदै गए पनि तेस्रो धारका नेताहरूले मिलाउने प्रयास गरेका थिए । तर, सफल हुन नसकेपछि ओलीसँग सम्झौता गर्न बाध्य हुनुभयो । विवाद समाधानका लागि तत्कालीन समयमा कार्यदल पनि गठन भएको थियो । तर, कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा अहिले समस्या देखिएको छ । विगतमा नेता नेपालले कार्यदलको सहमतिमा भने आफू सन्तुष्ट नरहेको बताउनुभएको थियो ।
कार्यदलले एमाले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किने सहमति भए पनि अहिले अध्यक्ष ओलीसहित संस्थापन पक्षका नेताहरूले सर्लक्कै त्यहीअनुसार फर्किन नसकिने बताउँदै आएका छन् । तेस्रो धारका नेताहरू भने सोही अवस्थाबाट पार्टी अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।
उपाध्यक्ष रावलले पार्टी विभाजन अध्यक्ष ओलीकै कारण भएको दाबीसमेत गर्नुभएको छ । उहाँले कार्यदलको संयोजकबाट दिएको राजीनामापत्रमा सो संकेत गर्नुभएको हो । विगतमा अध्यक्ष ओलीकै निवासमा नेपाल अर्को अध्यक्षका रूपमा रहने व्यवस्था गर्ने सहमति भए पनि पछि ओलीले नै नमानेको रावलको आरोप छ । उहाँले भन्नुभएको छ, ‘१० बुँदे सहमतिको कार्यान्वयन गर्दै पार्टी एकता कायम गर्नको लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो । यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताबीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षकोरूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’
सहमतिबारे नेता नेपाललाई जानकारी गराउने र भोलिपल्टै दुईजना नेताहरूको बीचमा कुराकानीका लागि स्थान निर्धारण गर्ने जिम्मेवारीसमेत ओली आफैँले लिनुभएको उहाँले बताउनुभयो । भोलिपल्ट अर्को कार्यक्रममा नेताहरू व्यस्त भएकाले भेटवार्ता हुन नसकेको र पछि सार्वजनिक कार्यक्रमहरूमा एक-अर्काविरुद्ध विष ओकल्ने काम भएपछि एमाले पार्टी विभाजित भएको रावलको भनाइ छ ।
उहाँले अगाडि भन्नुभएको छ, ‘सोहीअनुसार मैले उक्त निर्णयबारे माधवकुमार नेपाललाई जानकारी गराउनुका साथै कुराकानीका लागि स्थानको बारेमा कुरा गरेको थिएँ । तर, भोलिपल्ट पुष्पलाल स्मृति दिवस परेकाले दुवैजना नेताहरू कार्यक्रममा व्यस्त रहने स्थिति हुँदा कुराकानी हुन सकेन । त्यसपछि सार्वजनिक रूपमा भएका कटू शब्दवाणहरूको आदानप्रदानको कारण स्थिति बिथोलियो ।’ पूर्व–सहमतिको कार्यान्वयन गर्न र दुईजना नेताहरूका बीचमा कुराकानीको वातावरण बनाउन भरपुर प्रयास भए/गरेको पनि उहाँले बताउनुभएको छ ।
अहिले एमालेमा ओली पक्ष बलियो भएको छ । वरिष्ठ नेता नेपालले पार्टी छाडेपछि इतरपक्ष कमजोर हुँदै गएको हो । अहिले इतरपक्षमा रहेका केही नेताहरूलाई विभिन्न जिम्मेवारी दिइएपछि रावललगायत नेताहरू भने ओलीसँग निरन्तर संघर्षमा रहनुभएको छ । पार्टीलाई पुरानै अवस्थामा नफर्काए अवस्था असहज हुने चेतावनी इतरपक्षका नेताहरू दिँदै आएको भए पनि ओलीले भने आगामी महाधिवेशनमा आफू नै पार्टीको नेतृत्वमा आउने तयारीका साथ अगाडि बढिरहनु भएको छ ।




















