भारतीयको भेषमा अफगानी नागरिकको नेपाल प्रवेश।

[ सुभाकर विश्वकर्मा ] 

नेपालगञ्ज:= नेपाल-भारत आउजाउ गर्नेहरूलाई सीमामा कडाइ गर्न थालिएको छ । दक्षिणी छिमेकी भारतलेसमेत सीमामा कडाइ गर्न थालेपछि बाँके जिल्लाको भारतसँग सीमा जोडिएका ठाउँमा पनि कडाइ गर्न थालिएको हो ।

द्वन्द्वग्रस्त देश अफगानिस्तानका नागरिक अहिले देश छोडिरहेका छन् । उनीहरू भारत हुँदै नेपाल आएका समाचार सार्वजनिक भइरहेका छन् । यस्तैमा थप अफगानी नागरिक नेपाल छिर्ने सम्भावना बढेपछि जिल्ला सुरक्षा समितिको बैठकबाटै सीमा क्षेत्रमा कडाइ गर्ने निर्णय गरिएको जनाइएको छ ।

अफगान छोड्नेमा अधिकांश सरकारी अधिकारी र सरकारलाई सघाएकाहरू छन् । उनीहरू अहिले दक्षिण एसियाका देशहरूमा शरण लिइरहेका छन् । साथै छिमेकी मुलुक भारतमा पनि अफगानिस्तानबाट विस्थापित भएकाहरू धमाधम आइरहेका छन् । यसअघि भारत हुँदै नेपालमा म्यानमारका रोहिङ्ग्या शरणार्थीहरू पनि नेपाल-भारत सीमा जमुनाहा नाका हुँदै नेपाल छिरेका थिए ।

अहिले अफगानिस्तानी नागरिक पनि त्यसरी नै नेपाल प्रवेश गर्ने हुन् कि भन्ने त्रासका कारण सीमा क्षेत्रमा सुरक्षाकर्मीसमेत बढाइएको छ । सोही जोखिमलाई मध्यनजर गर्दै बाँकेको सीमा नाकामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री बताउनुहुन्छ ।

उहाँका अनुसार थप समस्या निम्तिन नदिनका लागि सीमा क्षेत्रमा सुरक्षा चेकजाँचमा कडाइ गरिएको हो । ‘खुल्ला सीमाका कारण भारती र नेपालीहरू एक अर्को देशमा सहजै आवतजावत गर्दछन् । त्यहाँ कुनै प्रकारको रोकटोक छैन । सोही सहजताको फाइदा उठाउँदै अफगानीहरूलाई पनि नेपाल प्रवेशमा सहज हुनसक्छ । त्यसैले हामीले सीमा कडाइ गरेका छौँ’, उहाँले भन्नुभयो ।

प्रजिअ खत्रीका अनुसार नेपाल प्रवेशका लागि भारतीयहरूलाई आधार कार्ड देखाए पर्याप्त हुन्छ । अहिले भारतबाट नेपाल आउनेहरूलाई विशेष निगरानी गरिएको उहाँले जानकारी गराउनुभयो ।

यसअघि नै नेपालका केही सीमा क्षेत्रबाट छिटफुट रूपमा अफगानिस्तानीहरू नेपाल छिरेका छन् । भारतीय आधार कार्ड देखाएर नेपाल प्रवेश गरेको जानकारी पाएसँगै रुपैडिहा नाकामा पनि थप कडाइ पारिएको हो । साथै बाँकेका अन्य क्षेत्रमा पनि कडाइ गरिएको छ । चेकजाँचमा संवेदनशीलता अपनाउन सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।