सर्लाही:= राम्रो लगाउने, मीठो खाने र बुढेसकालका लागि बचत गर्ने काम गरिन्छ । तर, काम गर्न सर्लाहीबाट भारत पुगेका तीन मजदुरको शंकास्पद मृत्यु भएपछि अहिले पूरै गाउँ शोकमा छ । सर्लाहीबाट भारतको उत्तरप्रदेशस्थित आलु भण्डारण गरेर राखिने कोल्डस्टोरमा काम गर्न पुग्नुभएका चन्द्रनगर गाउँपालिका-६, कामदका दुईजना र ईश्वरपुर नगरपालिका-३, भक्तिपुरका एक मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कामदका ३९ वर्षीय जगदिश माझी, २९ वर्षीय नन्दलाल माझी तथा भक्तिपुरका ४० वर्षीय सुमन भुजेल रहनुभएको छ । मृत्युको कारण खुल्न सकेको छैन । सँगै गएका तीनजना साथीको मृत्युपछि गाउँ फर्किएर आएका अन्य व्यक्तिहरूले विषाक्त घरेलु मदिरा सेवनबाट ज्यान गएको हुनसक्ने आशंका गरेका छन् । सँगै काम गर्न जानुभएका बुबा जगदिश माझीको विषाक्त घरेलु मदिराकै कारण मृत्यु भएको दाबी छोरो किलकुमार माझीको छ ।
कामदका मुसहर युवा तथा बाबु गुमाउनुभएका सुकिलकुमार माझीले गाउँकै ठेकेदारले युवाहरूलाई कामका लागि लगेर श्रमशोषण गरेको बताउनुभयो । ऋण तिर्न त्यहाँ काम गर्न पुगेकालाई थोरै पारिश्रमिकमा धेरै समय काममा लगाउने गरिएको समेत आरोप उहाँको छ । काम गरेर घर चलाउने छोरा मरेपछि अब घरपरिवार कसरी चलाउने र तीन सन्तानको शिक्षा तथा खानाको व्यवस्था कसरी मिलाउने भन्ने चिन्तामा आफूहरू परेको नन्दलाल माझीका बुबा गोनउर माझी बताउनुहुन्छ ।
कामदका वडाध्यक्ष रामचन्द्र कापरले गाउँका दुईजनाको मृत्यु भएपछि घर फर्किएर आउनुभएका १५/२० जनामध्ये पाँचजना यहाँ आएपछि बेहोस भएर बिरामी पर्नुभएको जानकारी दिनुभयो । उहाँहरूमध्ये बयलवासमा र मलंगवामा उपचारका लागि पठाएको वडाध्यक्ष कापरले बताउनुभयो ।
तराई मधेसमा पिछडिएको मुसहर समुदायको जीवन साहुको ऋण तिर्न र घर बनाउने रहरमै बितिरहेको छ । हालसम्म धेरै मुसहर युवाले कामको सिलसिलामा विदेशी भूमिमै आफ्नो अन्तिम श्वास फेरिरहेका छन् । यसतर्फ तीनै तहका सरकारले उचित कदम चाल्न आवश्यक छ ।




















