बार परिसरमै वकिलहरूबीच कुटाकुट !

काठमाडौं := नेपाल बार एसोसिएसनको परिसरमा अधिवक्ताहरूबीच कुटाकुट भएको छ । अधिवक्ता भूमिनन्द चुँडाल र अधिवक्ता विराट न्यौपानेबीच विवाद बढ्दै गएपछि हात हालाहालसम्म पुगेको थियो ।

अधिवक्ता न्यौपानेले आफूलाई पिटेको चुँडालले आरोप लगाउनुभएको छ । यसअघि चुँडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिक्नुभएको थियो । दुईजनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्चका बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलाग्नुभएको हो ।

न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिनुभएको छ भने चुँडाल न्यायाधीशहरूको बञ्च बहिष्कारको विरुद्धमा हुनुहुन्छ । इजलास निरन्तर हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएपछि आफूलाई पिटेको चुँडालको आरोप छ ।

‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु,’ चुँडालले भन्नुभयो । घटनाको भिडियोमा न्यौपानेले सुरुमा आक्रमण गरेपछि चुँडाल पनि हातपातमा उत्रिएको देखिन्छ । कुटपिटमा उत्रने दुवै कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनमा छन् ।