काठमाडौं:= नेपाल सिआरएस कम्पनीले पहिलोपटक डडेल्धुरामा ‘फ्रिडम’ ब्रान्ड नामबाट वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ । बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा एक कार्यक्रमका बीच सेनिटरी प्याडको शुभारम्भ गरेको हो ।
अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वल्र्ड २०१५ इभाना मानन्धरलगायतले विद्यालयका छात्रालाई एक साथ प्याड हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको कम्पनीले जनाएको छ ।
ग्रामीण क्षेत्रमा मातृ तथा बाल शिशु स्याहार सुधार आइसिएम सिसिआर कार्यक्रमअन्तर्गत महिला तथा किशोरीको महिनावारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरिएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन सहयोग केएफडब्लुबीचको सहकार्यमा प्याडको शुभारम्भ गरिएको सिआरएसका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले जानकारी दिनुभएको छ । उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेशका डडेल्धुरासहित बैतडी, डोटी र बझाङमा लागू हुनेछ ।
कार्यक्रम सञ्चालन भएका जिल्लामा वातावरणमैत्री प्याड सुपथ मूल्य र सहजै उपलब्ध गराउनुका साथै महिनावारी भएका बेला स्वस्थ रहन र स्वच्छ वातावरण बनाउन व्यवस्थापनमा सहयोग पुर्याउने लक्ष्य रहेको छ ।




















