काठमाडौं := सत्तारूढ नेपाली कांग्रेसको संस्थापनइतर समूहका १२ केन्द्रीय सदस्य सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विपक्षमा उभिएका छन् । उनीहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर जबराविरुद्ध आन्दोलनरत न्यायाधीश र कानुन व्यवसायीको पक्षमा आफूहरूलाई उभिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व-महामन्त्री कृष्णप्रसाद सिटौला समूहका १२ केन्द्रीय सदस्यहरूले वर्तमान अवस्थामा पार्टी स्पष्ट दृष्टिकोणका साथ न्यायालय शुद्धीकरणका लागि भइरहेको लडाइँको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन् ।
न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरणबिना न्यायपालिकाको स्वतन्त्रता सम्भव नहुने र न्यायपालिकाको स्वतन्त्रताबिना कांग्रेसले विश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव नभएको उनीहरूको भनाइ छ । ‘अतः अहिलेको अवस्थामा नेपाली कांग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायालय शुद्धीकरणका लागि भइरहेको लडाइँको पक्षमा उभिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व हो ।’
न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणालीभित्रैबाट उठेको विरोधलाई सामान्य लिन नमिल्ने भन्दै उनीहरूले अवस्था हेरेर कांग्रेस मूकदर्शक बन्न नहुने तर्क पनि गरेका छन् । ‘घटनाक्रमलाई न्यायालयभित्रको विषय हो, उसैले जानोस् भनेर नजरअन्दाज गर्न मिल्छ ? कदापि मिल्दैन,’ उनीहरूले भनेका छन्, ‘किनकि, यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले, जन्म कालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन् यस मामिलामा मौन बस्नै मिल्दैन,’




















