काठमाडौं:= नेकपा एमालेले आफ्नो पार्टीको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढाउने निर्णय गरेको छ । यसअघि स्थायी कमिटी बैठकले १५ सयभन्दा केही बढी प्रतिनिधि सहभागी गराउने निर्णय गरे पनि शुक्रबार बसेको बैठकले बढाउने निर्णय गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार अब एमालेको १०औं महाधिवेशनमा एक हजार ९९९ जना सहभागी हुनेछन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरूले प्रतिनिधिसंख्या बढाउने प्रस्ताव गरेपछि करिब ४०० थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थायी कमिटी बैठकबाट १५ सय प्लस प्रतिनिधि प्रस्ताव गरेका थियौँ । तर, केन्द्रीय कमिटीका सदस्य साथीहरूले अलिकति प्रतिनिधित्व बढाउनुपर्छ भनेर व्यापक सुझाव दिनुभएको छ । र, केन्द्रीय कमिटीका सदस्यहरूको सुझावको आधारमा अरू १०औँ महाधिवेशनको प्रतिनिधिहरूको संख्या १९ सय ९९ हुनेछ । अर्थात् करिब ४०० सदस्यहरूको संख्या यसबीचमा थप्ने केन्द्रीय कमिटीबाट निर्णय भएको छ ।’
यस्तै, एमालेले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा दुईजनालाई थप गरेको छ । ज्ञवालीका अनुसार रघुजी पन्त र शेरबहादुर तामाङलाई कमिटीमा थप गरिएको हो । योसँगै अब महाधिवेशन मूल व्यवस्थापन कमिटी २३ सदस्यीय भएको छ ।
उहाँले भन्नुभयो, ‘१०औँ राष्ट्रिय महाधिवेशनमा दुईजना थप गरेर २३ सदस्य बनाउने निर्णय गरिएको छ । थप भएका सदस्यहरूमा स्थायी कमिटी सदस्य कमरेड रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङ हुनुहुन्छ । यसरी हाम्रो मूल व्यवस्थापन कमिटी २३ सदस्यीय भएको छ ।’
बैठकले आगामी कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने कार्यक्रम पनि तय गरेको छ । एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेसिनको पनि परीक्षण गरेको छ । सो मेसिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनका प्रयोग गर्ने निर्णय पनि गरेको हो ।
प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘हामीले सबै क्षेत्रहरूमा कात्तिक २७ गते प्रतिनिधि निर्वाचन गर्नेछौँ । प्रतिनिधि निर्वाचनको निम्ति कात्तिक २७ गतेको मिति तोकिएको पनि यहाँहरूलाई जानकारी गराउँदछु । चौथो १०औँ महाधिवेशनमा प्रयोग हुने विद्युतीय मतदान मेसिनको हामीले परीक्षण पनि गर्यौँ । यसको डेमो पनि भयो र यसलाई प्रयोग गर्ने निर्णयसमेत हामीले गरेका छौँ ।’
बैठकले पार्टीको अर्काे केन्द्रीय कमिटीको बैठक आगामी मंसीर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ । बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन पार्टीका नेता, कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ । उहाँले बाँकी रहेका पार्टीको वडा र पालिका अधिवेशन छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीका नेताहरूलाई सचेत गराउनुभएको पार्टीका प्रवक्ता ज्ञवालीले बताउनुभयो ।




















