कांग्रेस पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी विमलेन्द्र निधिलाई।

काठमाडौं := प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिनुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२६) मा भाग लिन प्रधानमन्त्री तथा पार्टी सभापति देउवा बेलायत प्रस्थान गरेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई दिइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली कांग्रेसको विधानको धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुन्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति निधिलाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको हो ।