पाँचौँपटक प्रधानमन्त्री भएपछि देउवाको पहिलो विदेश भ्रमण।

[ डिबी शर्मा ] 

काठमाडौं:= जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गर्नुभएको छ । ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (युएनएफसिसी)को २६औँ सम्मेलन (कोप-२६) मा सहभागी हुन प्रधानमन्त्री देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार कतार एयरवेजमार्फत बेलायत प्रस्थान गरेको हो ।

प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप-२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । उहाँले उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपालले जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण तथा अनुकूलनका लागि गर्नुपर्ने उपायलगायतका विषयमा धारणा राख्ने जनाइएको छ । नोभेम्बर १ को साँझ प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्र/सरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनुहुनेछ ।

बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने तथा विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता गर्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । नोभेम्बर ३ मा प्रधानमन्त्री देउवाले रोयल बोटानिक गार्डेन, एडिनबराको भ्रमण गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत-नेपाल व्यापार तथा लगानी फोरमले आयोजना गरेको स्वागत कार्यक्रममा भाग दिनुहुनेछ । नेपाल-बेलायत समाज, गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूलाई समेत भेट्ने कार्यक्रम छ ।

उहाँले नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा कात्तिक १८ मा नेपाल फर्कने कार्यतालिका रहेको छ । पछिल्लोपटक प्रधानमन्त्री भएपछि उहाँको पहिलो विदेश भ्रमण हो । देउवासँगै ग्लास्गो जाने टोलीमा ६ जना सचिव छन् । भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव पनि सहभागी हुनुहुन्छ ।