चितवन:= नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुश प्रवृत्ति पराजित भएको बताउनुभएको छ । ओली प्रवृत्ति निरंकुश प्रतिगमनकारी प्रवृत्ति हो भन्दै प्रचण्डले अहिले त्यसको पराजय भएको बताउनुभएको हो ।
शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले ओली प्रवृत्ति पराजित भएर नै बालुवाटारबाट बालकोट पुगेको बताउनुभयो । ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि ओली बालुवाटारबाट बालकोट जानुपरेको प्रचण्डको भनाइ छ । अध्यक्ष दाहालले मातम (शोक) छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोपसमेत लगाउनुभयो । उहाँले ओली प्रवृत्तिलाई मलामी जाँदा हास्ने प्रवृत्ति भएको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो, नेपाल राष्ट्र र नेपाली जनताको निम्ति घातक प्रवृत्ति हो भन्ने कुरा स्थापित भयो, स्थापित भएपछि ओली बालुवाटारबाट बालकोट जानुपर्ने बाध्यता आइलाग्यो, तर विचित्रको प्रवृत्ति भएको हुनाले बालुवाटारबाट बालकोट जानु भनेको वास्तवमा ठूलो पराजय हो, मातम छाएको हो, त्यो नदेखाउन, बाजा बजाएर मलामी जाँदा नाच्दै गाउँदै गए, कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो ।’
अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको बताउनुभयो । समाज र देश विकासको लागि वाम गठबन्धन भए पनि त्योअनुसार काम हुन नसकेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवन जिल्लाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैगर्दा र पार्टीको तर्फबाट यहाँको जनतालाई सम्बोधन गर्दैगर्दा, सकारात्मक परिस्थिति थियो, संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यसाथ वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो, कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरूमा जनताले एउटा ठूलो ऊर्जा जनताबाट प्राप्त भएको थियो ।’
अध्यक्ष दाहालले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रस्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाउनुभयो ।
‘जीवनभरि प्रधानमन्त्री हुने ओलीको चाहना पूरा हुन्न’
अध्यक्ष प्रचण्डले जीवनभरि राजाजस्तो गरी बस्ने ओलीको सपना पूरा नहुने पनि बताउनुभएको छ । ओलीले आफूलाई राजाजस्तै सम्झिने गरेको उल्लेख गर्नुहुँदै उहाँले जिन्दगीभर प्रधानमन्त्री बन्ने केपी ओलीको सपना पूरा नहुने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘केपीले त राजै भएँ, अब मैले दरबार छोड्नु पर्दैन भनेजस्तो गरेका रहेछन् ।’
प्रचण्डले प्रधानमन्त्रीनिवास तथा कार्यालय निर्माणको कामलाई ओलीले दरबारजस्तो बनाउन खोजेको आरोप पनि लगाउनुभयो । नेकपा कालमा ओलीले थाइल्याण्ड, इटाली र रोमबाट महँगा सामान ल्याएको पनि उहाँको भनाइ छ ।
आफूलाई डेढलाखको खाटमा सुतेको भनेर प्रचार गरिएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री बनेका बेला डेढलाखको खाटमा सुत्यो भनेर प्रचार गरियो, त्यो खाट मैले किनेको थिइनँ, त्यो खाट भाँच्न पनि भएन । ओलीले राजा ठानेर राजकीय जीवन बिताउन दरबार बनाउन लागेका रहेछन् ।’
ओलीको हातबाट केन्द्र सरकार गुमिसकेपछि अब छिट्टै सबै प्रदेश सरकारहरू पनि गुमाइदिने प्रचण्डको भनाइ थियो ।
‘म डराउने मान्छे होइन निर्वाचन लड्छु’
अध्यक्ष प्रचण्डले आफू चितवनबाटै निर्वाचन लड्ने बताउनुभएको छ । धेरैले अब चितवनबाट प्रचण्डले निर्वाचन लड्न डराएको भन्दै प्रचार गरेको भन्दै उहाँले अरू नै जिल्ला र निर्वाचन क्षेत्रमा गएर निर्वाचन लड्ने कुरामा सत्यता नभएको बताउनुभयो ।
उहाँले चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले चितवनमा हुने राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको टिप्प्णी गर्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र चितवनलाई ताकेर नै महाधिवेशन गर्न लागेको बताउनुभयो ।
उहाँले चितवनको माडीमा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अयोध्याधाम बनाउने प्रक्रिया र राम–लक्ष्मण, सीता तथा हनुमानको मूर्ति ल्याएर आफूलाई पछाडि पार्न खोजेको आशंका पनि गर्नुभयो ।
‘माओवादीले नै देशको भविष्य बनाउँछ’
अध्यक्ष प्रचण्डले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताउनुभएको छ । माओवादी देशको केन्द्रबिन्दु वन्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘तपाईंहरूलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एकपटक माओवादी पार्टी नै यो देशको भविष्य निर्माता बनेर आउँछ ।’
माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने प्रचण्डको भनाइ छ । आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रूपमा आउने भन्दै उहाँले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म त हाम फालेकै छु हाम फालिराख्छु । तपार्इंहरू लाग्नुस् ।’
माओवादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको प्रचण्डको दाबी छ । उहाँले आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने बताउनुभयो ।




















