सुदूरपश्चिममा विकृति छाउगोठ भत्काउने अभियान फेरि सञ्चालन गर्ने तयारी।

महिनावारी हुँदा लुक्ने चलन हट्न नसक्दा किशोरीहरू समस्यामा

[ एकेन्द्र खत्री ] 

अछाम:= महिनावारी भएका किशोरीलाई लुकाउने चलन हट्न नसक्दा किशोरीहरू शारीरिक तथा मानसिक समस्या भोग्न बाध्य भएका छन् । पहिलोपटक महिनावारी भएका बेला लुकाउने चलन हट्न नसक्दा आफूहरूले विभिन्न खालका समस्या भोगेको अछामका किशोरीहरूले गुनासो गरेका हुन् ।

यस्तै, छाउ प्रथा अन्त्य गर्न सञ्चालन भएका कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् । मर्यादित महिनावारी, छाउगोठमुक्त समाज बनाउन स्थानीय सरकार र जिल्लामा सञ्चालनमा रहेका अन्य गैरसरकारी संघसंस्थाले सञ्चालन गरेका कार्यक्रम केही समय प्रभावकारी बने पनि अहिले अनुगमन नहुँदा प्रभावकारी बन्न नसेकेका हुन् ।

अभियानका क्रममा गोठ भत्काए पनि पछि केही गाउँका महिला पुनः गोठ लगाएर तथा खुल्ला ठाउँमा पाल टाँगेरसमेत रात बिताउने गरेको पाइएको छ । गाउँमा कसैको पशु चौपाया बाघले खाएमा होस् या अन्य कुनै दुर्घटना होस् त्यो सबै महिला महिनावारी हुँदा घरमै बस्न थालेपछि भएको हो भनेर दोष लगाउने गरेकाले महिला पुनः गोठमा फर्किने गरेको स्थानीय बताउँछन् । स्थानीय सरकार र गैरसरकारी संस्थाको योजनाअनुसार हतारमा छाउगोठमुक्त घोषणा गर्ने तथा त्यसपछि प्रभावकारी अनुगमन गर्ने प्रचलन छैन । जसकारण महिनावारी हुँदा फेरि महिलाहरू गोठमै बस्न थालेका हुन् ।

छाउगोठ भत्काइसकेका मेल्लेख गाउँपालिका–५ विन्दवासिनीका महिला तथा किशोरीहरू फेरि पाल टाँगेर बस्न थालेका छन् । आफ्नै घरभित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठ र पालमुनि सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् । रजस्वला भएका बेला धारा छुन नहुने, घर वरपर हिँड्न नहुने, गाई गोरुलाई छुन नहुने तथा चार दिनसम्म गोठमा बस्नुपर्ने परम्परा पहिलेदेखि चलिआएको कारण त्यसलाई त्याग्न नसकेको महिलाहरू बताउँछन् ।

छाउगोठहरू भत्काउने समयमा गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई आर्थिक सहयोग गर्ने र अन्य विकल्पको निर्णय लिने बताएको थियो । तर, अहिलेसम्म पनि गाउँपालिकाले मर्यादित महिनावारीका बारेमा चासो नदेखाएको न्यून आयस्रोत भएका घर परिवारको गुनासो छ । महिनावारी भएको बेला गोठमै बसेका कारण अछाममा हालसम्म १४ जना महिलाहरूले ज्यान गुमाइसकेका छन् ।

यता, महिला अधिकारकर्मी पशुपति कुँवर पनि महिलाहरू छाउगोठमै बस्ने थालेको स्वीकार्नुहुन्छ । उहाँले अभियानका क्रममा सबै महिलाहरू घरमै सुरक्षितरूपमा बसे पनि कोरोना संक्रमणका कारण अनुगमन गर्न नपाउँदा फेरि महिलाहरू छाउगोठमै बस्ने थालेको उहाँले बताउनुभयो ।

२५ वर्ष लामो छाउगोठ भत्काउने अभियान प्रभावकारी बनाउने बारेमा सबै सरोकारवाला निकाय, स्थानीय सरकार र अन्य विभिन्न गैरसरकारी संघसंस्थाले फेरि प्रभावकारी रूपमा काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले सबै महिला र किशोरीहरूलाई सुरक्षित रूपमा घरमै बस्न आग्रह गर्नुभयो । छाउगोठ भत्काउने अभियान फेरि सञ्चालन गर्ने अछाम प्रशासनले बताएको छ ।