काठमाडौं := शुक्रबार मध्यरातिबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो ।
मन्त्रिपरिषद्को कात्तिक ११ को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोहीसिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसद्का दुवै सदनको अन्त्य भएको घोषणा गर्नुभएको हो ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिनुभएको छ । यसअघि ११ गते बसेको प्रतिनिधिसभा बैठकले २९ गतेका लागि अर्को बैठक आहृवान गरेको थियो ।
यस्तै, असोज २५ गते अर्को सूचना प्रकाशन नभएसम्मका लागि भन्दै राष्ट्रियसभाको बैठक पनि अन्त्य गरिएको थियो । लामो समयदेखि प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध गर्दै आएको थियो । माधवकुमार नेपाललगायत एमाले विभाजन गरी नयाँ पार्टी दर्ता गराएका १४ जना सांसदहरूलाई कारबाहीको माग गर्दै एमालेले संसद्मा नाराबाजी गर्दै आएको थियो ।




















