टी-२० विश्वकप क्रिकेट: इंग्ल्यान्डको लगातार दोस्रो जित।

दुबई (युएई):= आइसिसी टी-२० विश्वकपमा उपाधि दाबेदार इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो । यसअघि इंग्ल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

जितका लागि १२५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले ३८ बलमा ५ चौका र ३ छक्कासहित ६१ रन बनाउनुभयो । यस्तै डेविड मलानले २५ बलमा ३ चौकासहित २८ रन बनाउनुभयो भने जस बटलरले १८ बलमा १ चौका र १ छक्कासहित १८ रन थप्नुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनायो । बंगलादेशका मुश्फिकुर रहिमले ३० बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाउनुभयो । यस्तै कप्तान महमुदुल्लाह रियाद र नासुम अहमदले समान १९ रन जोड्नुभयो ।

इंग्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिनुभयो । त्यसबाहेक लियाम लिभिङस्टोनले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिनुभएको थियो ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको थियो । इंग्ल्यान्ड दुई खेलमा दुईमा नै जितका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्डले अब शनिबार अस्ट्रेलियासँग खेल्नेछ । समान दुई अंक भए पनि रनरेटका आधारमा श्रीलंका दोस्रो, अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । समान दुई खेल खेल्दा अंकविहीन बनेका बंगलादेश पाँचौं र वेस्ट इन्डिज पुछारमा छन् । बंगलादेशले शुक्रबार वेस्ट इन्डिजसँग खेल्नेछ ।

नामिबियाको जित

यस्तै नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । स्कटल्यान्डले दिएको ११० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो। नामिबियाको जितमा जेजे स्मिथले अविजित रहँदै ३२, क्रेग विलियम्सले २३, माइकल भानले १८ र डाविड विएसले १६ रन बनाउनुभयो । स्कटल्यान्डका माइकल लास्कले दुई तथा क्रिस ग्रेभ्स, ब्राड हिृवल, मार्क वाट र साफ्यन शारिफले १-१ विकेट लिनुभयो ।

त्यसअघि स्कटल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्रै बनाउन सकेको थियो । स्कटल्यान्डका लागि माइकल लास्कले ४४ रन, जो क्रिस ग्रेभ्सले २५ रन जोड्दा म्याथ्यु क्रसले १९ रन बनाउनुभयो । नामिबियाका रुबेन ट्रम्पेलमानले ३ तथा जान फ्राइलिंकले २ विकेट लिनुभयो । जितसँगै समूह २ को नामिबियाले एक खेलमा दुई अंक जोडेको छ । स्कटल्यान्डको यो लगातार दोस्रो हार हो ।