फेरि सर्ने भयो कांग्रेस पार्टीको महाधिवेशनको मिति, देउवा र पौडेल सकारात्मक।

काठमाडौं:= नेपाली कांग्रेसको महाधिवेशन पुनः सर्ने भएको छ। मंगलबार सभापति शेरबहादुर देउवासहित पदाधिकारीको बैठकले मंसिर मसान्तभित्र महाधिवेशन गर्न निर्वाचन समितिलाई निर्देशन गरेसँगै महाधिवेशनको समयतालिका फेरि हेरफेर हुने भएको हो ।

मंसिर ९ गतेदेखि हुने १४ औँ महाधिवेशनको कार्यतालिका परिवर्तन नगर्ने अडान विगतमा रहे पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैजनाले तालिका सार्न सहमति जनाउनुभएको बैठक सम्बद्ध सूत्रले जानकारी दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी र निर्वाचन समितिको संयुक्त बैठकले निर्धारित मितिमा महाधिवेशन सम्भव नहुने निष्कर्ष निकालेको थियो । सभापति देउवाकै प्रस्तावअनुरूप मंसिरभित्र महाधिवेशन आरम्भ गर्नेगरी नयाँ तालिका जारी गर्न निर्वाचन समितिलाई निर्देशन दिइएको हो ।

बाँकी रहेका वडा, पालिका, क्षेत्रीय, जिल्ला र प्रदेशका अधिवेशन र निर्वाचन मंसिरको दोस्रो हप्ताभित्र सम्पन्न गरिसक्नुपर्ने छ । तर, यही कात्तिक २४ छठ पर्व सकिएपछि मात्रै बाँकी तालिका सुरु गर्ने तय भएको हुनाले मंसिरको अन्तिममा पनि महाधिवेशन हुनेमा पार्टीका नेता तथा सदस्यहरूमा पर्याप्त आशंका देखिन्छ ।

पौडेल देउवाबीच विवाद 

बैठक सम्बद्ध स्रोतका अनुसार मंगलबार बैठक सुरु हुनासाथ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को विवाद भएको थियो । देउवाले वरिष्ठ नेतालाई प्रश्नको छर्रा छुटाउँदै सोध्नुभयो, ‘सभापति महाधिवेशन गर्न चाहिरहेको छैन भनेर जथाभावी किन भाषण गर्दै हिँडेको ? अनि पार्टी अवैधानिक भएको भनेर कसरी बोलेको ? के यस्ता कुराले पार्टी चल्छ ? म कसरी महाधिवेशन गर्न तयार छैन ? बताउन सक्छौ ? जे पायो त्यही बोल्ने ? पार्टी कसरी अवैध भयो ? कसले नेपाली कांग्रेसलाई अवैध घोषणा गर्न सक्छ ? जवाफ दिनुपर्छ।’

देउवाले यसरी प्रश्नै प्रश्नले आक्रमण गरेपछि पौडेल पनि चर्को गरी प्रतिवादमा उत्रिनुभएको थियो । उहाँले आफ्नो भनाइको प्रतिरक्षा गर्दै भन्नुभयो, ‘सभापति नै जिम्मेवार हुने हुनाले क्रियाशील सदस्यता टुंगो लाग्न नसकेको, महाधिवेशनका लागि आवश्यक पूर्व–तयारीमा कुनै चासो नदिएको र सकेसम्म महाधिवेशन मिति सार्ने उपक्रम मात्रै गरिरहेको हुनाले सभापति महाधिवेशनप्रति गम्भीर नभएको स्पष्ट छ ।

त्यही कुरा मैले भनेको हुँ ।’ पौडेलले वैधानिकताबारे संविधान, निर्वाचन कानुन र पार्टीको विधानसमेत हेर्न सभापतिलाई सुझाव पनि दिनुभएको थियो । तर, सभापति देउवाले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेको हुनाले यसको वैधानिकतामाथि कसैले पनि औँलो उठाउन नसक्ने जिकिर गर्नुभएको थियो ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको चर्काचर्कीलाई अरू पदाधिकारी, निर्वाचन समितिका सदस्यहरू र उपस्थित सचिवालयका सदस्यहरूले रमाइलो मानेर सुनिरहेको बैठकमा सहभागी एक नेताले बताए ।