[ नारायण भण्डारी ]
संवैधानिक बाटोबाट मात्र मेरो बहिर्गमन हुन्छ : जबरा, राजीनामा दिनु नै उचित निकास भएको न्यायाधीशहरूको अडान
काठमाडौं:= प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चका न्यायाधीश, कानुन व्यवसायी, पूर्व-प्रधानन्यायाधीश लगायतले चौतर्फी रूपमा राजीनामा मागेपछि उहाँ गम्भीर संकटको मोडमा पुग्नुभएको छ । न्यायपालिकाको नेतृत्व गर्न प्रधानन्यायाधीश जबरा अक्षम भएको भन्दै सर्वोच्चका न्यायाधीश नै विरुद्धमा लागेपछि सोमबार र मंगलबार इजलास अ नै प्रभावित बन्न पुगेको छ ।
मंगलबार प्रधानन्यायाधीशले आठवटा इजलास तोक्नुभएको थियो । १५ जना सर्वोच्च अदालतका न्यायाधीशलाई प्रधानन्यायाधीश जबराले इजलास निर्धारण गर्नुभएको थियो तर, कुनै पनि इजलासमा सुनुवाइ भएन । सोमबार पनि प्रधानन्यायाधीश राणाले सातवटा इजलास तोक्नुभएको थियो । सोमबार र मंगलबार दुवै दिन २१६ वटा पेसी सूचीकृत थिए ।
सर्वोच्चको नेतृत्व र न्यायाधीशबीचको टकरावका कारण सर्वोच्चमा देखिएको द्वन्द्व तत्कालै सुल्टिने सम्भावना पनि क्षीण बनेको छ । जसकारण कहिलेसम्म इजलास प्रभावित बन्ने हो अनिश्चित नै छ । सर्वोच्चका १५ जना न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश जबरालाई सामूहिक रूपमा भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । ‘प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने सबै न्यायाधीशले राजीनामा दिए आफू पनि दिन तयार’ भएको भन्दै जबराले प्रष्ट रूपमा राजीनामा नदिने सन्देश दिएपछि बैठक सकिएको थियो । ‘संवैधानिक प्रक्रियामार्फत नियुक्ति भएको हुनाले संवैधानिक बाटोबाट मात्र मेरो बहिर्गमन हुन्छ,’ जबराले न्यायाधीशहरूलाई जवाफ दिनुभएको थियो ।
उहाँले थप्नुभयोे, ‘सडकमा कसैले मेरो राजीनामा माग्दैमा मैले राजीनामा दिन्नँ । अन्य न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छन्, तपाईंहरूमध्ये कतिपयको नाममा प्रश्न उठेर विवाद उत्पन्न भएको छ । प्रश्न उठेका सबैजनाले राजीनामा गर्ने हो भने मैले पनि राजीनामा गर्छु, नत्र अन्य संवैधानिक बाटोको सामना गर्न तयार छु,’ जबराको भनाइ उद्धृत गर्दै एक न्यायाधीशले भन्नुभयो ।
संवैधानिक निकायमा भागबण्डा लिने, तीविरुद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषद्मा समेत भागबण्डा खोज्ने राणाका कामकारबाहीले समग्र न्यायपालिकालाई विवादित बनाएकाले उहाँले निकास दिनुपर्ने न्यायाधीशहरूको धारणा थियो ।
बुधबार फेरि भेट्ने समझदारीसहित प्रधानन्यायाधीश र न्यायाधीशहरूको बैठक टुंगिएको थियो । त्यसपछि पुनः न्यायाधीशहरू छलफलका लागि जुटेका थिए । न्यायाधीशहरूको छलफलले पुरानै अडानलाई कायम राख्ने तय गरेपछि बुधबार पनि इजलास प्रभावित हुने देखिएको छ । यसबाहेक न्यायाधीशहरूको छलफलमा अरू कुनै विषयमा कुनै निर्णय भएको छैन ।
प्रधानन्यायाधीशविरुद्ध बार आन्दोलनमा जाने
नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिए आन्दोलनमा उत्रिनुपर्ने सुझाव दिएको छ । मंगलबार सल्लाहकार समितिका सदस्यसँग बार एसोसिएसनले गरेको छलफलमा उनीहरूले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने बताउँदै त्यसो नभए देशव्यापी आन्दोलन गर्नुपर्ने बताएका हुन् ।
बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले छलफलमा सहभागी सबैले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने धारणा राखेको र नदिए आन्दोलनमा उत्रिनुपर्ने सुझाव दिएको जानकारी दिनुभयो । ‘बैठकमा सहभागी ९९ दशमलव ५ प्रतिशतको सुझाव प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ भन्ने रह्यो,’ उहाँले भन्नुभयो, ‘यदि उहाँले अविलम्ब राजीनामा नदिए देशव्यापी आन्दोलनमा जानुपर्छ । तर, यसबारेमा बारको बैठक बसेर निर्णय गर्ला ।’ मंगलबारको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने र नदिए आन्दोलनमा उत्रिनुपर्ने सुझाव बार एसोसिएसनलाई दिएका छन् ।
जबरा रहँदासम्म सर्वोच्चमा बहस गर्दैनौँ : शम्भु थापा
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताउनुभएको छ । नेपाल बार एसोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले गरेका कामहरू न्यायसम्मत नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत हुने भन्दै तुरुन्त राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
कानुन व्यवसायीहरू एकमतले प्रधानन्यायाधीश जबराको राजीनामाको पक्षमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो । जबरा प्रधानन्यायाधीश रहुञ्जेल कानुन व्यवसायीहरूले बहस नगर्ने भन्दै उहाँले अदालत र न्याय प्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशले न्याय प्रशासनमा सम्पादन गरेका कुराहरू न्यायसम्मत् भएनन्, न्याय प्रशासन उपयुक्त भएनन् भनेर उहाँको कार्य क्षमताको विषयमा हामीले छलफल गरेर निष्कर्ष निकालेर संविधानमा स्वतः आफैँ हट्ने व्यवस्था राजीनामा दिएर जानेछ । अहिलेको प्रधानन्यायाधीश फेरि बसिरहँदाखेरिको अवस्थामा न्याय सम्पादनमा गम्भीर क्षतविक्षत हुने र गम्भीर दिशाबाट न्याय विचलित हुने अवस्थामा सबै कानुन व्यवसायीहरू पुग्नुभएको छ । यसमा कुनै राजनीतिक दलले उठाएको कुरा पनि होइन । उहाँ प्रधानन्यायाधीश रहुञ्जेलसम्म बहस गर्दैनौँ । यो कुरा बुझे हुन्छ । अदालत, न्याय प्रशासन चल्दैन । गतिरोधको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्दछ भन्ने हामीहरूको भएको छ । राजनीतिक लेनदेन प्रधानन्यायाधीशले गरेका हुन् भन्नेमा हामीहरू पुगेका छौँ । साँठगाँठ भएको तमाम कानुन व्यवसायीलाई लागेको छ ।’
अधिवक्ता टीकाराम भट्टराईले बारको सल्लाहकार समितिको बैठकमा बोल्ने ३७ जनामध्ये ३६ जनाले वर्तमान प्रधानन्यायाधीशले संवैधानिक दायित्व पूरा गर्न नसकेको र उहाँको कार्यकालमा न्यायिक विचलन आएको धारणा राखेको जानकारी दिनुभयो । प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरूको समेत विश्वास जित्न नसकेको भन्दै उहाँले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेमा सबैको मत रहेको बताउनुभयो । प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा नदिएमा देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी पनि अधिवक्ता भट्टराईले दिनुभयो ।
सर्वोच्चका कर्मचारी संगठनको चेतावनी- समस्या समाधान नभए आन्दोलन सुरु गरिन्छ
सर्वोच्च अदालतमा कार्यरत कर्मचारीका चार छुट्टाछुट्टै संगठन (ट्रेड युनियन) ले न्यायपालिकामा अहिले देखिएको विवाद समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको ध्यानाकर्षण गराउनुभएको छ । कर्मचारी संगठनहरूले समस्या समाधानका लागि सर्वोच्च अदालतका ‘आन्दोलनरत’ न्यायाधीशको पनि ध्यानाकर्षण गराएका छन् ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै छुट्टै छलफलमा रहेका न्यायाधीशहरूले मंगलबार पनि पेसी (इजलास) बहिष्कार गरेपछि कर्मचारी संगठनहरूले संयुक्त वक्तव्य जारी गरेर सेवाग्राहीको न्याय पाउने हक हनन भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् ।
कर्मचारी संगठनहरूले अहिले न्यायालयमा ‘अशोभनीय गतिविधि’ भइरहेको भन्दै यस्ता गतिविधिले न्यायालय थप संकटतर्फ धकेलिने चिन्ता व्यक्त गरेका छन् । आधिकारिक ट्रेड युनियन सर्वोच्च अदालत, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशसहित अरू न्यायाधीशहरू जिम्मेवार भई समस्या समाधान गर्नुपर्ने बताएका छन् ।




















