ओली आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त, होमस्टे उद्घाटनदेखि सडक, पुलसम्मको निरीक्षण।

झापा:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा व्यस्त देखिनुभएको छ । आइतबार गृहजिल्ला भ्रमणमा निस्किनुभएका ओली झापा निर्वाचन क्षेत्र ५ मा उद्घाटन, शुभकामना आदानप्रदान, सडक तथा पुल निरीक्षण कार्यक्रममा व्यस्त देखिनुभएको हो ।

अध्यक्ष ओलीले गौरादह नगरपालिका-५ स्थित नमुना एकीकृत कृषि सहकारीले निर्माण गरेको वातानुकूलित नमुना घरबास (होमस्टे), कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्र संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।  ओलीले आफ्नो निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि जिल्लामा निर्माण गरिएको यो पहिलो ‘कृषि होमस्टे’ पनि हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश बनाउने काममा आफू लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफू सरकारमा रहेको बेला देश विकाससँगै सुशासन ल्याउने, बाटोघाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरेको छु ।’ ‘अब हामी हरेकले सामाजिक अभियन्ता भएर अघि बढेमा मात्र देश बन्छ, देश बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिले पनि भन्ने गर्छन् ओलीले सरकार टिकाउनका लागि अध्यादेशमार्फत नागरिकता ऐन संशोधन गरेको हो, आमाबाट जन्मेका र बाबुको कुनै पहिचान नखुलेकाले पनि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ, त्यही संविधानलाई टेकेर नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिन खोजेका थियौँ ।’

कृषि सहकारीले एक करोड २० लाख लागतमा नमुना घरबास (होमस्टे) बनाएर सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष बेदनिधि चापागाईंले बताउनुभयो । कृषि र पर्यटनलाई लक्ष्य गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमिनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर रहेको उहाँको भनाइ छ । होमस्टेमा आठवटा सुत्ने सुविधासम्पन्न कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष बनाइएको छ ।

२०७० सालमा महारानी झोडा साना किसानले प्रवद्र्धन गरेको सहकारीले नाफा कमाउनेभन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जनाइएको छ । तीन वर्षअघि सरकारले मुलुकभरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रूपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका मन्त्रालयले सो रकम विनियोजन गरेको उहाँले बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत आर्थिक वर्षमा रु ७० लाख विनियोजन गरेको बजेटमा सहकारीले होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत बनाएको थियो ।

कार्यक्रममा पूर्व-महाधिन्याधिवक्ता अग्नि खरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा, संघीय सांसद, प्रदेशसभा सदस्य लगायतको उपस्थिति थियो। अध्यक्ष ओलीले गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो । त्यसैगरी, उहाँले आफ्नो निर्वाचन क्षेत्रमा पुल र सडकहरूको पनि निरीक्षण गर्नुभएको थियो ।