आजदेखि १० औं एसियन भैंसी ‘ब्ल्याक गोल्ड’ विज्ञ सम्मेलन।

काठमाडौं:= भैैंसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैंसीपालनको विकास र सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ नेपालमा सोमबारदेखि १० औं एसियन भैंसी सम्मेलन सुरु हुँदैछ ।

नेपालको आग्रहमा एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन नेपालमा पहिलोपटक सम्मेलन आयोजना गर्न राजी भएका थिए । गत वर्ष नै भौतिक उपस्थितिमै सम्मेलन गर्ने तयारी रहे पनि कोरोनाका कारण पछि धकेलिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. लोकनाथ पौडेलले हिमालय टाइम्सलाई बताउनुभयो । सन् २०१८ मा भैंसी विज्ञ सम्मेलन भारतमा भएको थियो ।

दूधमा ६० र मासुमा ३४ प्रतिशत योगदान

बहुउपयोगी भैंसीको दूधमा ६० र मासुमा ३४ प्रतिशत योगदान रहेको छ । विगतमा मासुमा पनि भंैसी पहिलो नम्बरमा रहेको थियो । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार पछिल्लो समय मासुमा पोल्टी क्षेत्रको बाहुल्यता बढेपछि राँगा भैंसीको मासुको खपत घटेको हो तर उत्पादन भने घटेको होइन । हाल मासुमा कुखुरा पहिलो,भैंसी दोस्रो र खसीबोकाले तेस्रो स्थान ओगटेको छ ।

खासगरी गाई हिन्दूहरूको धार्मिक आस्था भएकाले नेपाल र भारतमा भैंसीको मासु बढी उपयोग हुने गरेको छ भने अन्य मुलुकमा भने भैंसीको मासु खासै उपयोगमा नरहेको अधिकृत पौडेलले बताउनुभयो । मासुमात्रै नभई दूधमा पनि भैंसी अब्बल मानिन्छ । तुुलनात्मकरूपमा गाईभन्दा भैंसीको दूधमा बढी फ्याट र ठोस पदार्थ हुन्छ । जसले गर्दा भैंसीको दूध बढी मूल्यमा बिक्री हुन्छ । ढकालका अनुसार गाईको दूधमा पानीको मात्रा ८७ प्रतिशत हुन्छ भने भैंसीको दूधमा ८२ प्रतिशतमात्रै हुन्छ । भैंसीको दूध स्वादिलो पनि हुन्छ ।

विश्वमा २० करोड भैंसी

विश्वमा भैंसीको संख्या २० करोड रहेकोमा आधा हिस्सा भारतले ओगटेको छ । अधिकृत पौडेलका अनुसार विश्वमा रहेको भैंसीको कुल संख्यामध्ये ५० प्रतिशत भारतमा रहेको छ । भारतमा हाल भैंसीको संख्या ११ करोड रहेको छ । त्यसपछि क्रमशः पाकिस्तान, चीन र चौथोमा नेपालमा रहेको छ । यसबाहेक बंगलादेश, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, इटली, ब्राजिल, बुल्गेरियालगायतका मुलुकमा पनि भैंसीपालन बढ्दोक्रममा रहेको छ । तथापि एसियामा जति अन्य क्षेत्रमा छैन । नेपालमा भने भैंसीको संख्या ५१ लाख रहेको छ ।

सहसचिव पौडेलका अनुसार उन्नत जातका भैंसीबाट २५ लिटरभन्दा बढी उत्पादन लिन सकिन्छ । तर, हाल २० लिटरसम्म उत्पादन दिने भैंसी प्रचलनमा रहेका छन् । नेपालमा भैंसीको संख्या ५१ लाख रहेको छ, जसमध्ये ३५ देखि ४० प्रतिशतमात्रै उन्नत जातका रहेका छन्, बाँकी स्थानीय जातमा रहेका छन् । उन्नत जातको भैंसीबाट एक बेतमा दुई हजार सात सय लिटरसम्म दूध उत्पादन लिन सकिन्छ भने स्थानीयबाट एक हजार लिटरमात्रै उत्पादन लिन सकिन्छ । स्थानीय जातमा पहाडमा लिमे, पारकोटे, गड्डी र तराईतिर तराई मुर्रा जातका भैंसीपालन हुँदै आएको छ ।

गाईभन्दा भैंसी बढी उपयोगी

नेपाल तथा भारतमा गाई धार्मिक आस्थासँग जोडिएकाले दूधबाहेक गाई अन्य प्रयोजनमा आउँदैन । जसका कारण अनुत्पादक गाईको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दूध उत्पादन हुन छाडेपछि गाईलाई के गर्ने भन्ने समस्या रहेको देखिएको छ । अनुत्पादक गाई किसानका लागि बोझ हुने गरेको छ । तर, भैंसीमा भने यस्तो समस्या हुँदैन । दूध उत्पादन नभएको अवस्थामा भैंसी मासुका लागि खपत हुने भएकाले किसान भैंसीको व्यवस्थापनका लागि भौंतारिनुपर्दैन ।

विज्ञका अनुसार गाईभन्दा भैंसीपालन सहज छ । तुलनात्मकरूपमा भैंसीको आहारविहारमा जोखिम कम हुन्छ । दूध दिन छाडेपछि पनि मासु र छाला उपयोग हुने भएकाले भैंसीलाई बहुउपयोगी जनावर मानिन्छ । विज्ञहरूले भैंसीलाई एसियाको ‘ब्ल्याक गोल्ड’ भन्ने गरेका छन् । त्यसैले भैंसीपालन विस्तारमा जोड दिँदै आएका छन् । सोही सन्दर्भमा भैंसी विज्ञ सम्मेलन आयोजना गरिएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसनद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा विभिन्न १७ देशका विज्ञले एक सय ३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्द देवकोटाले जानकारी दिनुभयो ।

सम्मेलनमा तीन सय ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ । अन्य मुलुकका सहभागीहरूलाई ध्यानमा राखेर सम्मेलनको समय दिउँसो दुई बजेदेखि बेलुका सात बजेसम्म तय गरिएको पनि उहाँले बताउनुभयो । पाँच दिनसम्म सञ्चालन हुने सम्मेलनले नेपालमा भैंसी प्रवद्र्धनमा निकै उपयोगी हुने आयोजकको अपेक्षा रहेको छ ।