बाढीले इन्टेक र पाइप बगाएपछि फिदिममा खानेपानीको हाहाकार।

पाँचथर:= एकसाता अघिको अविरल वर्षाका कारण आएको बाढीले पानीको इन्टेक तथा पाइप बगाएपछि पाँचथरको सदरमुकाम फिदिममा खानेपानीको हाहाकार भएको छ । गत कात्तिक १ र २ गते आएको भीषण वर्षाले इन्टेक तथा पाइप बगाएपछि खानेपानीको हाहाकार भएको हो ।

रानीटार र लुङरुपाको आप्तुवा खोलाबाट ल्याइएको खानेपानीको मुहानको इन्टेक पुरेको र दुई सय मिटर पाइप वगाएर क्षतिग्रस्त भएपछि अहिले मर्मतको काम भइरहेको फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय प्रमुख छवि कार्कीले बताउनुभयो । मर्मत सम्भारपश्चात् अझै एक हप्तापछि मात्रै पानी वितरण गर्न सकिने उहाँले बताउनुभयो ।

अहिले विकल्पको रूपमा बर्मेली, सिस्ने मुहानबाट पानी वितरणको काम गर्न लागिएको उहाँले बताउनुभयो । फिदिम बजारका दुई हजार एक सय घरधुरीका झण्डै १० हजार स्थानीय खानेपानी नहुँदा समस्यामा परेका छन् ।